काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३९ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५६.५४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २५ करोड ४० लाख रुपैयाँ आर्जन गरेको थियो।

कम्पनीले आफ्नो उत्पादन बिक्रीबाट १ अर्ब ४४ करोड रुपैयाँ उठाएको छ। यो गत वर्षको तुलनामा ३३.९३ प्रतिशत बढी हो। गत वर्ष उत्पादन बिक्रीबाट कम्पनीले १ अर्ब ८ करोड रुपयाँ उठाएको थियो। 

कम्पनीले प्रशासनिक खर्च २२.८१ प्रतिशतले घटाउन सफल भएको छ। गत वर्ष यही अवधिमा ७ करोड ९६ लाख रुपैयाँ रहेको प्रशासनिक खर्च घटेर समीक्षा अवधिमा ६ करोड १४ लाख रुपैयाँमा सीमित बनेको छ।

कम्पनीले रिजर्भको आकार ६.४६ प्रतिशतले बढाएर ४९ करोड ३१ लाख रुपैयाँ उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ४६ करोड ३२ लाख रुपयाँ रहेको थियो।

कम्पनीको चुक्तापुँजी ५७ करोड ८४ लाख रुपैयाँबाट बढेर ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८७.३३ रुपैयाँबाट बढेर ९१.६६ रुपैयाँ पुगेको छ। पीई रेसियो ४७.१३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५६.८३ रुपैयाँ पुगेको छ।