काठमाण्डौ । हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रियबीच नेपालमा बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्ट्रिय र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने सम्बन्धमा सम्झौता भएको छ। 

उक्त सम्झौतापत्रमा हस्ताक्षर भएपश्चात बैंकले डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्ने छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले हिमालयन बैंकले डाइनर्स क्लब अन्तर्राष्ट्रिय आफ्नो क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सञ्जालमा सामेल गर्न पाउँदा खुसी व्यक्त गरे। उनले चाँडै नै डाइनर्स क्लब अन्तर्राष्ट्रिय कार्ड आफ्ना कार्ड सञ्जालमा सामेल हुने हुँदा बैंकले निकट भविष्यमै आफ्ना मर्चेन्टलाई बढीभन्दा बढी प्रसिद्ध अन्तर्राष्ट्रिय कार्डहरु स्वीकार गर्ने क्षमता प्रदान गरेको जानकारी गराए। 

बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १४६ एटीएम तथा ५ हजारभन्दा बढी पस टर्मिनलहरुमा स्वीकार गराउने लक्ष्य लिएको छ। यसबाट डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स र त्यसका भारत, दक्षिण कोरिया, ब्राजिल, टर्किका गठबन्धन सञ्जालबाट जारी भएका कार्डका धारकहरु नेपाल भ्रमण गर्दा हिमालयन बैंकको एटीएम तथा पस टर्मिनलका सञ्जालमा प्रयोग गर्न सक्नेछन्। त्यसका साथै दोस्रो चरणमा बैंकले उक्त कार्डहरु नेपालमै स्थानीयहरुका लागि जारी गर्नेछ। 

डिकभर्स ग्लोबल सञ्जालका तर्फबाट एसिया प्यासिफिक क्षेत्रीय निर्देशक यानी झाङले हिमालयन बैंकसँगको सहकार्यले नेपालमा उक्त कार्ड स्वीकार हुन सुरु हुँदा आफ्नो उपस्थिति आफ्ना पार्टनसहरुका आशाबमोजिम अन्तर्राष्ट्रिय बजारमा बढाउँदै गएको जानकारी गराए। भारत, चीन, जापान, कोरियाको नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा पर्यटकहरुलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्वीकार गर्ने अवसर दिएको छ। 

नेपालको बैंकिङ क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्रान्डहरु जस्तै– अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टर कार्ड, युनियनपे, भिसा जारी तथा स्वीकार गर्ने तथा डाइनर्स एन्ड डिस्कभर कार्ड स्वीकार गर्ने एकमात्र बैंक हो। हिमालयन बैंक नेपालमा अमेरिकन एक्सप्रेस ब्रान्डको कार्ड जारी तथा स्वीकार गर्ने एकमात्र साझेदार हो।