काठमाण्डौ । हिमालयन एयरलाइन्सले नेपाल र खाडी मुलुकबीच उडान सम्बन्ध बढाउँदै लैजाने क्रममा काठमाण्डौं र साउदी अरेबियाको दमाम शहरबीच पनि उडान सेवा थपेको छ । 

काठमाण्डौ र साउदीको दमामबीचको सिधा उडान सेवा बिस्तारले दुुई देशको सम्बन्धमा थप प्रगाढता आउने तथा आवतजावत गर्ने यात्रुहरुलाई समेत सहजता हुने एयरलाइन्सको विश्वास छ । 

नेपाल तथा साउदी अरेबियाबीच सिधा उडान गर्ने हिमालय एअरलाईन्स, नेपालको पहिलो बायुसेवा कम्पनी हो, जसले आप्रवासी नेपालीहरुको मागलाई ध्यानमा राखी दुई देशबीच सिधा हवाई सेवा शुक्रबारदेखि शुरु गरेको हो । 

एअरलाइन्सले काठमाण्डौं-दमाम-काठमाण्डौं बीच दैनिक उडानबाट आफ्नोे सेवा संचालन गर्नेछ।

काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामका लागि पहिलो उडान एच नाइन ५५९ बेलुका २२:३० (स्थानीय समय)मा प्रस्थान गरेको छ । उत्साहपूर्ण यात्रुसंख्याका साथ उडेको सो उडान दमामस्थित किङ्गफाहाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दिन स्थानीय समय अनुसार बिहान ००:५० मा अवतरण गर्नेछ । 

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले यो अवसरमाव भने–‘काठमाण्डौं र दमाम जोड्ने पहिलो वायुसेवा कम्पनी हुन पाउदा हामी धेरै खुशी छौं । यसपालीको चाडपर्व र जाडोयाममा धेरै भन्दा धेरै नेपालीले आफ्नो देश आउन सिधा उडानको सेवा प्राप्त गर्न सक्ने गरी हिमालय एअरलाईन्सले यस उडानको शुभारम्भ गरेको छ । यस उडानले साउदी अरेबियामा विभिन्न पेशामा सँलग्न करिब ५ लाख नेपालीलाई सुलभ भाडादरमा सिधा उडानको सुविधा प्रदानगर्नेछ । हामीलाई विश्वास छ कि हाम्रो नेपाली आतिथ्यता सेवाले घर फर्कने नेपालीहरु पक्कै खुशी हुनेछन् ।”

टिकट खरीद तथा बुकिङ्गका लागि हिमालय एअरलाईन्सको बिक्री कार्यालय वा आधिकारिक ट्राभल एजेन्टसँग सम्पर्क गर्न सकिने छ । एअरलाईन्सले इकोनोमी क्लासका लागि ३० के.जी र बिजनेस क्लासका लागि ४० केजी निःशुल्क ब्यागेज सुविधाको व्यवस्था गरिएको छ ।

हिमालय एअरलाईन्सले साउदी अरेबियाका लागि आफ्नो आधिकारिक बिक्रेताका रुपमा अस्फर ट्राभल एण्ड टुरिजमलाई छनौट गरेको छ, जसले टिकट बिक्री, बजार प्रवद्र्धन, बुकिङ्ग तथा आरक्षणका लागि जिम्मेवारी लिएको छ ।