काठमाण्डौ । हिमालय एअरलाइन्सले मंगलबारदेखि काठमाण्डौ- चोङकिङ- काठमाण्डौ उडान सेवा पुनः सुचारु गरेको छ ।

यो सेवा बिस्तारलाई कम्पनीले नेपाल र चीन बीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रबर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको बताएको छ ।

यस काठमाण्डौ- चोङकिङ काठमाण्डौ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने छ बताइएको छ। दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्सको प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको छ ।

समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक, विशिष्ट विविध पाक-कला एवम् उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरूमाझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको छ ।

पहिलो आउटबाउन्ड उडान, एन ९७८७, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान १०ः०७ मा प्रस्थान गरेको थियो र चोङकिङको जियाङ्गबेइ अन्तरराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे १५ः५० बजे अवतरण गर्ने छ ।

यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा कुल यात्रु संख्या १२५ रहेको छ ।

डिसेम्बर १२ पश्चात् कम्पनीले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने योजना बनाएको छ।

यस उडान सेवासँगै नेपाल र चीनबीच कम्पनीको यो चौथो सिधा उडान सेवा हुनेछ । कम्पनीले यसअघि नै बेइजिङ, छिन्ताओ र सांहाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।