काठमाण्डौ । निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म ६२ प्रतिशतसम्म मतदान भएको जनाएको छ । 

निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण मतदान भइरहेको छ । ७ बजेदेखि सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म जारी रहने बताइए पनि कतिपय स्थानमा मतदाताको अझै लामो लाइन रहेको छ । 

आयोगका प्रवक्ताका अनुसार वर्षाका कारण केही क्षेत्रमा ढिलो गरी मतदान सुरु भए पनि समग्रमा उत्साहजनक मतदान भएको छ । बुधबार स्थानीय निर्वाचनको दोश्रो चरणअन्तर्गत ८ हजार ३ सय ६४ मतदान केन्द्रमा मतदान जारी छ । 

दोस्रो चरणमा चुनाव अन्तर्गत १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाउँपालिकाबाट कुल १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् ।