काठमाण्डौ । नेपाल सरकारको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षीय सम्झौता भएको छ।

प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीलाई रोजगारीमूलक तालिम दिने प्रतिबद्धतासहित त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा प्रवर्द्धन केन्द्रका तर्फबाट उपसचिव ऋषिराम पंगेनी, परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी र हुलास स्टिलका तर्फबाट ब्रान्ड एन्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रवि केसीले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौताअनुसार ३ महिनाको तालिमपश्चात् हुलास स्टिलले २ वर्षका लागि रोजगारमूलक प्रशिक्षण कार्यक्रममा छनौटमा परेका व्यक्तिलाई नीतिनियमअनुसार रोजगारीका अवसर प्रदान गर्नेछ। 

त्यस्तै प्रशिक्षण तालिम अवधिको न्यूनतम खर्च भने नेपाल सरकारले व्यहोर्नेछ। कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको हो।