काठमाण्डौ । हुलास स्टिल उद्योग लिमिटेडको औद्योगिक यात्रा नेपालमा सन् १९८१ मा ग्रीनफिल्ड भेन्चर, कोमक्राफ्ट र गोल्छा समूहले संयुक्त रुपमा सुरु गरेको हो। उद्योगको ‘गुराँस’ छाप आज कर्कट जस्तापाता, अलुमिनियुम पाइप र स्टिल संरचना उत्पादनको उच्च गुणस्तरताको पर्यायवाची नामको रुपमा चिनिने गरेको छ।

हिप्को सुपरबिल्ड हुलास स्टिलकै एउटा नवीन उद्योगको रुपमा रहेको छ। आज हिप्को सुपरबिल्ड स्टिल संरचना उत्पादन गर्ने पहिलो उद्योग र सम्पूर्ण स्टिल उत्पादन क्षमता भएको मुलुककै एक मात्र उद्योगको रुपमा रहेको छ। 

यस उद्योगको उत्पादनबाट नेपालभर ठुला स्टिल संरचनाका व्यवसायिक भवन, भण्डारण, सोरुम, पोल्ट्री फार्म र हवाई ह्याङ्गरहरु बनेका छन्। सँगै फ्याब्रिकेसन उत्कृष्टतामा दक्षता बढाउन हिप्को सुपरबिल्ड प्रतिवद्ध छ। 

हुलास स्टिलको हिप्को सुपरबिल्ड स्टिल फ्याब्रिकेसन तालिम तथा रोजगार कार्यक्रमले नेपालको श्रम बजारको प्रमुख चुनौतीहरुलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम नेपालको लुम्बिनी र मधेश प्रदेशमा कार्यान्वयन हुँदै आएको छ। यस कार्यक्रमले ४५ हजार नेपालीको जीविकोपार्जन उन्नत बनाउने काम गर्दै आइरहेको छ। 

यो कार्यक्रमलाई दिवाकर गोल्छा कर्परेसनअन्तर्गत हुलास स्टिल उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आइरहेको छ। यसको साझेदारी नेपाल उद्योग परिसंघ र मेक इन नेपाल (स्वदेशी) अभियानले गरेका छन्। यस कार्यक्रमले १३४८ जनालाई श्रम बजारको मागअनुरुप तालिम र रोजगार दिन लागेको कम्पनीले जनाएको छ। 

यो तालिम सात दिनको अवधिभरि रहनेछ। यो तालिम वीरगन्ज महानगरपालिका–३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो। यो तालिम विशेषगरी स्टिल तथा फलामका श्रमिक, महिला, अतिनिम्नआय भएका व्यक्ति र विपन्न वर्गलाई लक्षित गरिएको छ। यस तालिममा नेपाली नागरिकता भएका र मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेकाहरु सहभागी हुन सक्नेछन्। 

यो तालिम असारदेखि कात्तिकसम्म लागू गरिने कम्पनीले जनाएको छ। यस तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्दछ। 

हुलास स्टिलले प्राकृतिक श्रोत र सामाजिक विकासलाई सन्तुलनमा ल्याउँदै समग्र मुलुकको दिगो आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको छ।