काठमाण्डौ । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेसनल प्रालिले पाटन जेसिससँगको सहकार्यमा डेंगु रोग पीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ।

पछिल्ला दिनमा राजधानीलगायत देशभर डेंगु संक्रमित तीव्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तोे सेवाको सुरुआत गरेको हो। कम्पनीले बिरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निःशुल्क परामर्श सेवाको सुरुआत गरेको हो। 

यसका साथै यदि बिरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वास्थ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारका व्यवस्था मिलाइएको छ। कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निःशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घरघरमै पुगेर उपचार गर्ने व्यवस्थासमेत मिलाइएको थियो। 

१४ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घर–घरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ। कम्पनीले हालैमात्रै घरमै पुगेर स्वास्थ्य सेवाका अलावा रेडियोलोजी सेवा दिन सुरु गरेको छ। हाल हेल्थ एट होममार्फत करिब एक लाखभन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन्। 

हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिनेलगायतका कार्य गर्दै आएको छ। देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ।