काठमाण्डौ । काठमाण्डौ चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर र काठमाण्डौ धुम्बाराहीस्थित बैद्य अर्गनाइजेसनबीच विशेष छुटसहित सेवासम्बन्धी सम्झौता भएको छ।

बैद्य अर्गनाइजेसनको कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत तथा बैद्य अर्गनाइजेसनका निर्देशक वेदबहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे। 

बैद्य अर्गनाइजेसनका सदस्य र कर्मचारीहरुका लागि आवश्यक स्वास्थ्योपचार सेवा सुलभ र सहज रुपमा पुर्याउने उदेश्यले सम्झौता गरेको समाचारमा जनाइएको छ।

सम्झौताअनुसार बैद्य अर्गनाइजेसनसँग सम्बन्धित कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’अन्तर्गत पूर्णकालीन आवश्यक सेवाहरु विशेष छुटमा सहज रुपमा लिन सक्नेछन्।

सम्झौतामा चिकित्सकसँगको परामर्श, विषेशज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, विभिन्न खोपका लागि व्यवस्था, रगत परीक्षण तथा प्रि–हेल्थ चेकअप सेवालगायतका सुविधा उपलब्ध हुने जनाइएको छ। 

ॐ अस्पतालले कर्पोरेट डेस्कमार्फत बैद्य अर्गनाइजेसनको संस्थागत सिफारिसमा उपचार तथा परिक्षणका लागि आउने सेवाग्राहीका लागि सम्पर्क व्यक्तिको समेत व्यवस्था गरेको छ।

समारोहमा बैद्य अर्गनाइजेसनका एचआर तथा एडमिन प्रमुख विनिता कुइँकेल र ॐ हस्पिटलका विजनेस डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी सहभागी थिए। 

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य उपचार सेवा प्रदायक ॐ अस्पतालले दुई दशक अघिदेखि नै आफ्नो व्यापार प्रवर्द्धन नीतिअनुसार विभिन्न संघसंस्थासँग स्टाफ तथा परिवारजनसँगै ग्राहकका लागि सरलीकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहीअनुरुप सेवा उपलव्ध गराउँदै आएको छ।

निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरले एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत अन्य ३७ वटाभन्दा बढी विषयमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको छ।

निःसन्तान दम्पतीलाई दाम्पत्य सुख प्रदान गर्ने आईभीएफ सेवाको सुरुआत गर्ने यो अस्पालले मातृशिशु सेवा, मूत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियतसहितको उपचार सेवासमेत प्रदान गर्दै आइरहेको छ।

स्वास्थप्रति जागरुक नागरिकका लागि अस्पतालमा भिन्नभिन्न स्वास्थ्यपरीक्षण प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरुसमेतको व्यवस्था रहेको छ।