काठमाण्डौ । नेपाल हस्तकला महासंघले आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष आगामी मंसिर २८ गतेबाट हुने भएको छ ।

यसअघि मुलुकको आर्थिक अवस्थाका कारण स्थगित मेला मंसिर २८ गतेदेखि पाँच दिनसम्म काठमाण्डौको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुनेछ । हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो ।

महासंघले नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्द्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले बर्सेनि यो मेला आयोजना गर्दै आएको छ ।

स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्‍याउने मेलाको लक्ष्य छ ।

मेलामा हस्तकलाका वस्तुहरुको करिब १२५ वटा स्टलहरु रहने आयोजक नेपाल हस्तकला महासंघले बताएको छ । मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका विदेशी प्रदर्शनीकर्ताले समेत भाग लिने छन् । व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला संघ र वस्तुगत संघहरु समेतको सहभागिता रहने छ ।

महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन् । यस्तै, प्राकृतिक रेसा र बाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा बिक्रीमा रहने उनले बताए ।

‘सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रममा समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम  छ,’ अध्यक्ष शाक्यले भने, ‘मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई निस्शुल्क स्टल प्रदान गरिने छ ।’

मेलाको प्रमुख आकर्षणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने छ । जसअन्तर्गत परम्परागत विधातर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’मा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहनेछ भने प्रतियोगितामा उत्कृष्ट घोषित तीन जना कलाकारलाई नगद पुरस्कारको व्यवस्था छ ।

मेलाकै सन्दर्भमा हस्तकलाका विविध विधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गराउने र कलाकारहरुको व्यापार व्यवसायलाई प्रवर्द्धन गराउने उद्देश्यले महासंघको कला प्रदर्शनी समितिबाट कला प्रदर्शनी-२०८० आयोजना गरिने जनाइएको छ ।

एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री हुने मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन हुने छ । 
मेलाबाट अन्तरराष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरुसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर प्राप्त गर्न महासंघ अध्यक्ष शाक्य बताउँछन् । 

महासंघका अनुसार हाल नेपाली हस्तकलाका वस्तुहरु वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार २४ अर्ब रुपैयाँ हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको महासंघको दाबी छ ।