काठमाण्डौ । पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा बाम गठबन्धनले जित्ने संभावना बढ्दै गएको छ । बाम गठबन्धनले झण्डै झण्डै क्लीन स्वीप नै गर्नसक्ने अवस्था समेत देखिएको छ । 

प्रारम्भिक मतगणनाको क्रममा ३७ निर्वाचन क्षेत्रमध्ये कांग्रेस ५ वटामा अगाडि रहे पनि सो संख्या घटेर अहिले २ मा झरेको छ । अर्थात, अधिकांश ठाउँमा आधाभन्दा बढी मतगणना हुँदा कांग्रेसले ३७ क्षेत्रमध्ये २ स्थानमा मात्र अग्रता लिइरहेको छ । 

अग्रता लिइरहेका क्षेत्रमा समेत बाम गठबन्धनका उम्मेद्वारले कडा टक्कर दिइरहेका छन् । 

हालसम्म तीनवटा क्षेत्रको परिणाम आइसकेको छ । जसमध्ये मनांग र मुस्तांगमा एमालेले जितको झण्डा फहराएको छ भने रुकुममा माओवादी केन्द्रले जित हात पारेको छ । 

यो तयार पार्दासम्म एमाले २०, माओवादी केन्द्र १२ र कांग्रेस २ स्थानमा अगाडि छन् । 

कांग्रेसले रसुवा र हुम्लामा मात्र अग्रता लिइरहेको छ । बाजुरामा उसको अग्रता भए पनि त्यसलाई एमाले उम्मेद्वारले तोडिइसकेका छन् । रसुवा र हुम्लामा समेत कांग्रेसका उम्मेद्वारहरु झिनो मतअन्तरले मात्र अगाडि छन् । यसै भन्न सकिने अवस्था छैन ।