काठमाण्डौ । निर्वाचन आयोगले अपरान्हसम्म देशभरका मतदानकेन्द्रमा सरदर ६५ प्रतिशत मत खसेको जनाएको छ । 

आयोगका प्रवक्ता सूूर्यप्रसाद शर्माले मतदानको समय ५ बजेसम्म भएकोले अहिले पनि विभिन्न क्षेत्रमा मतदाताहरुले उत्साहपूर्वक मतदान कार्यमा भाग लिइरहेका छन् । 

उनका अनुसार दिउँसो ३ बजेसम्म ६५ प्रतिशत मत खसिसकेको छ । काठमाण्डौको मतदानमा उत्साहजनक सहभागिता देखिएको छ । यहाँ ३ बजेसम्म ७० प्रतिशतसम्म मत खसेको छ । शर्माका अनुसार स्यांग्जा, नवलपरासी र रसुवाजस्ता जिल्लाहरुमा समेत ६५ प्रतिशत बढी मत खसिसकेको छ । 

आज पहिलो चरणको स्थानीय निर्वाचन अन्तरगत ३४ जिल्लामा मतदान भइरहेको छ । दोलखा लगायतका जिल्लाका केही क्षेत्रको मतदान स्थगित भए पनि बाँकी सबै क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको आयोगले जनाएको छ । 

आयोगले मतदान सम्पन्न भएका क्षेत्रबाट ब्यालेट संकलन गरी आज रातिदेखि नै कडा सुरक्षा घेराबीच मतगणना थाल्ने तयारी गरेको छ । सोही अनुसार मातहतका निकायलाई निर्देशन दिइएको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।