नेपाल राष्ट्रबैंकबाट स्वीकृति प्राप्त तथा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत राष्ट्रियस्तरको फाइनान्स कम्पनीहरुमा चालू आर्थिक वर्षको प्रथम त्रैमासको रिपोर्ट अनुसार कम्पनीको पुँजी, निक्षेप तथा कर्जाको आकार र नाफाको हिसाबमा सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा पर्छ आइसीएफसी फाइनान्स ।
काठमाडौंको टंगालमा मुख्य कार्यालय रही काठमाडौं उपत्यका भित्र र बाहिर गरी कुल १७ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको आईसिएफसि फानान्स लिमिटेड यसको संस्थागत विकास तथा कारोवारको आकारमा भइरहेको प्राकृतिक बढोत्तरीले गर्दा नेपालको समग्र फाइनान्स कम्पनीहरुमा एक सबल, सक्षम र भरपर्दो कम्पनीको रुपमा आफूलाई स्थापति गर्न सफल भएको छ । यस उत्कृष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा सुनिल पन्तले बागडोर सम्हालेर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।
नेपाल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी(हालको एनएमबी बैंक)बाट बैंकिङ्ग करिअर सुरुवात गरेका पन्तले त्यहाँ छँदा सिस्टम र ट्रेजरी विभाग हेर्ने गर्थे । एनएमबिको ६ वर्षको अनुभव पछि त्यस समय सञ्चालनमा आउन लागेको माछापुच्छे बैंकमा सेवा प्रवेश गरेर उक्त बैंकको विभिन्न शाखा, विभागहरुमा कार्य गर्दै अन्त्यमा ट्रेजरी मेनेजरको भूमिकामा रहेर ६ वर्षको कार्यकाल व्यतित गरेको उनले सम्झिए । आजभन्दा १३ वर्षअघि सहायक महाप्रबन्धकको रुपमा आइसीएफसीमा आबद्ध भई विषम परिस्थिति र बजारको उतारचढावका बीच पनि कम्पनीको प्रगति, उन्नति र पहिचानको एक हिस्साको रुपमा निरन्तर कार्यरत पन्त हालैदेखि सीइओको रुपमा कार्यरत छन् । पन्तले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका हुन् । प्रस्तुत छ पन्तसँग बिजशालाको तर्फबाट भक्तराज रसाइलीले गरेको कुराकानीको सम्पादित अंश:
भर्खरै सीइओको कमाण्ड सम्हाल्नुभएको छ, कस्तो अनुभव भइरहेको छ ?
-सुरुवातीको मेरो बैंकिङ्ग करिअर अहिलेजस्तो प्रतिस्पर्धा थिएन । पहिले बैंकहरुको संख्या सीमित थियो, अहिले बैंक तथा वित्तीय संस्थाहरुको वृद्धिका कारण यो क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको छ । नियमन निकायले पनि नियम र निर्देशनको दायरा फराकिलो बनाउँदै लगेको र बजारमा जोखिमहरुको मात्रा पनि बढ्दै गएका कारण ससाना काम पनि धेरै विचार गरेर गर्नुपर्ने हुन्छ ।
हरेक साल नेपाल राष्ट्र बैंंक, आन्तरिक तथा बाह्य लेखापरीक्षकले संस्थाले गरेका काम कारवाहस्रुको सूक्ष्म रुपमा Off-Side र On-Side निरीक्षण गरिरहेका हुन्छन् । नियामकले सुक्ष्म रुपमा निरीक्षण गरिरहेका हुनाले व्यवसायमा पारदर्शिता समेत वृद्धि भएको छ ।
फाइनान्सलाई आगामी दिनमा कसरी अगाडि बढाउने योजना छ ?
हाल नेपाल तीव्र आर्थिक वृद्धि सहित विकास निर्माणको युगमा प्रवेश गरेको सन्दर्भमा भौतिक पूर्वाधारहरुको तीव्र निर्माणसँगै धेरै विकास कार्य भइरहेका छन् । चुनौतिका साथसाथमा अवसर पनि बग्रेल्ती देखिरहेको छु । एउटा सीइओको नाताले भन्नुपर्दा वासलात, शाखा, प्रडक्टहरु जस्ता कुराहरुलाई समेटेर संस्थाको जोखिम बहन गर्नसक्ने क्षमतालाई अभिवृद्धि गदै सस्टेनेबल ग्रोथको दिशामा लैजाने भावी कार्यदिशा बनाएको छु ।
राष्ट्रियस्तरको फाइनान्स भए पनि पूर्व पश्चिमतर्फ शाखा बिस्तारमा खासै ध्यान दिनुभएको देखिएको छैन, किन यस्तो ?
मैले अघि नै निवेदन गरेँ कि हामी सञ्चालन जोखिम र संस्थागत सुशासनमा अलिक बढि नै सजग छौं । यसो भन्दै गर्दा व्यवसाय तथा शाखा नै नबढाएको पनि हैन । काठमाण्डौं उपत्यका भित्र मात्रै ६ वटा शाखा र देशको विभिन्न स्थान जस्तैः चितवन, भैरहवा ,रुपन्देही, कपिलवस्तु, स्याङ्गजा, त्रिशुली, रसुवा तथा बनेपा लगायतका ठाउँमा गरी ११ शाखाहरु सञ्चालनमा रहेका छन् । पूर्व तथा पश्चिम तिर पनि शाखाहरु विस्तार गर्ने सोच चाहिँ पक्कै हो, सञ्चालन जोखिम र आवश्यक आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारी विकास तथा सीमित स्रोतसाधनका कारण पनि विस्तार र विकासमा हामी अर्गानिक रुपमा अघि बढेका हौं । हामी सम्भाव्यतालाई सूक्ष्म परीक्षण गर्दै शाखा विस्तारमा जोड दिन्छौं । अहिले १७ वटा शाखा र शाखा भएका ठाउँमा प्रायः एटीएम र अत्याधुनिक बैंकिङ्ग सेवा मार्फत ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराइरहेका छौं ।
आइसीएफसीले राज्यलाई कसरी टेवा पुर्याइरहेको छ ?
हामीले आफ्नो तर्फबाट वित्तीय संस्थाले खेल्नुपर्ने भूमिका निभाएका छौं । नेपाल सरकारको बजेट, नेपाल राष्ट्रबैंकको मौद्रिक नीतिले लिएको लक्ष्य र निर्देशन लगायतको अक्षरंश पालना गर्दै विभिन्न किसिमका वित्तीय सेवा र सुविधाहरु प्रदान गर्दै बजारमा व्यवसायिक क्रियाकलाप बढाउँदै समग्रमा देशको उत्पादन बृद्धिमा आफ्नो स्थानबाट भूमिका निर्वाह गरिरहेका छौं ।
फाइनान्सहरुमा विद्यमान कमजोरी र चुनौतिहरुलाई कसरी नियाल्नु भएको छ ?
अहिले हजुरहरुले देखिरहनु भएकै होला, फाइनान्स कम्पनीहरु धेरै नै बलिया दरिएका छन् । विगत ५/७ वर्षदेखि फाइनान्स कम्पनीहरुलाई न्यून तरलताको अवस्थाबाट गुज्रनु नपरेको अवस्था जगजाहेर नै छ । बदलिंदो परिवेशमा फाइनान्स कम्पनीहरुमा पनि राम्रो व्यवस्थापनको प्रवेशका कारणले राम्रै हुँदै गइरहेको पक्कै छ । चूनौतीका रुपमा भन्नुपर्दा आफ्नै फाइनान्स कम्पनीहरुबीचको प्रतिस्पर्धा मुख्य हो । अर्को हिसाबले हाम्रो मार्केट नै फरक भएकाले अन्य बैंक तथा वित्तिय संस्थाहरुसंग खासै चूनौति छ जस्तो लाग्दैन ।
आइसीएफसी फाइनान्सबाट सेवाग्राहीहरुले वाणिज्य बैंककै सेवा पाइरहेका छौं पो भन्ने गरेका सुनियो ?
खासमा हामी आफूले आफैलाई राम्रो भन्ने भन्दा पनि नेपाल राष्ट्र बैंकले निर्देशन गरे बमोजिम हामीले प्रवाह गर्ने सेवा तथा सुविधाले ग्राहको आवश्यकता पूरा गर्न सक्छ कि सक्दैन भन्नमै केन्द्रीत हुन्छौं । अझै भन्नु पर्दा उत्कृष्ठ सेवा र सुविधामार्फत सधैं ग्राहकको मन जित्ने कोशिशमा हुन्छौं । यो सुन्दा मलाई पनि खुशी लाग्यो ।
सेयर लगानीकर्ताहरुले आइसीएफसीबाट कस्तो किसिमको आश गर्नसक्लान् ?
सेयरधनीहरुलाई निरन्तर प्रतिफल दिइरहेका छौं नै, यसका अलावा हामीे सस्टेनेबल ग्रोथमा बढी विश्वास गर्दै अघि बढिरहेका छौं । यद्यपि हाम्रो मुख्य लक्ष्य भनेकै ग्राहकको सन्तुष्टि हो । सेयरधनीहरुलाई पहिलेको भन्दा कम नहुने गरी प्रतिफल दिनेछौं ।
पछिल्लो अवस्थामा नेपालमा ब्याजदरको लिगलिगे दौडमा ब्याजदर स्थिरता नहुनुमा को दोषी देख्नुहुन्छ ?
ब्याजदरका लागि नेपाल सरकार र नेपाल राष्ट्रबैंकले ब्याज यति नै हुनुपर्छ भनेर कहिले भन्दैन, यो ओपन र फ्री मार्केट हो । पछिल्लो समयमा ब्याजदर निक्षेपमा आशा गरेभन्दा माथि गएकै हो । केही हदसम्म विभिन्न तथ्यांकहरुले दाबी गरे मुताबिक राज्यले पूँँजीगत खर्च सोचेअनरुप नभइरहेको अवस्थो हो । मौद्रिक नीतिले २५ प्रतिशत कर्जा विस्तार गर्नेलक्ष्य लिएकोमा बैक तथा वित्तीय संस्थाहरुले पहिलो त्रैमासमा नै १५ देखि २० प्रतिशत सम्मको ग्रोथ लिएको कारणले सम्पत्ति र दायीत्वमा असन्तुलन भई त्यसको प्रेसरले पनि ब्याजदर माथि गएको हो । मेरो विचारमा अब सबैले दीर्घकालीन विकासका नजरले हेर्नुपर्छ र यो नै समाधान हो । वास्तवमा नाफा कमाउने अस्वस्थ होडबाजीका कारणले पनि यो विकराल स्थिति सिर्जना भएको हो । माग र आपूर्तिमा आपसी तालमेलमा ध्यान दिएको खण्डमा समाधान हुनसक्छ ।
बचत र ऋणमा कस्तो किसिमको ब्याजदर कायम गर्नुभएको छ ?
हाम्रो बेसरेट १२ प्रतिशत हाराहारीमा छ । आजको मितिसम्म बचतमा ८ प्रतिशतसम्म र ऋणको प्रकृतिअनुसार १४ देखि १६ प्रतिशतसम्म ब्याजदर कायम गरेका छौं ।
पछिल्ला समयमा बैंक तथा वित्तीय संस्थाहरुले क्रेडिट ग्रोथ बढिरहेको सन्दर्भमा समाधान के हुनसक्छ ?
संयम नै निर्विकल्प उपाय हो जस्तो लाग्छ । राष्ट्रबैंकले त केबल लाइसेन्स दिने र आफूले लाइसेन्स दिएको संस्थाहरुले गरेका काम र कार्यबाहीहरुको निगरानी गरी एउटा अभिभावकको भूमिका निर्वाह गर्ने हो । हरेक बैंक तथा वित्तीय संस्थाका व्यवस्थापन र बोर्डले बुद्धिमतापूर्ण तवरले वासलातको ग्रोथलाई प्राकृतिक बनाउन ध्यान दिन जरुरी ठान्दछु ।
वर्तमान समयमा तरलताको विकराल अवस्थाले गुज्रनुपरेकोमा तपाईंको धारणा कस्तो छ ?
अहिले ब्याजदरका कारणले पैसाको क्रयशक्तिमा ह्रास आएको अवस्था हो । यही अवस्था नै अहिलेका लागि विकराल हुने स्थिति पैदा हुने कारक तत्व हो ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
हामी बैंक तथा वित्तीय संस्था चलाएर बसेकाहरुले एउटा शर्तानुसार संयमित भएर काम गर्नुपर्छ । नेपाल सरकार र नेपाल राष्ट्रबैंकले लिएका हरेक आर्थिक लक्ष्यहरुलाई हामीले सहयोगी भएर देशको आर्थिक विकासमा आफ्नो आफ्नो तर्फबाट सकरात्मक भूमिका निर्वाह गर्दै आफ्ना शेयरधनीहरुलाई उचित प्रतिफल दिंदै काम गर्ने हो र अघि बढ्नुपर्नेमा जोड दिन चाहन्छु ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago