काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा परिचित आईसीटी अवार्डको आठौँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ। लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने ‘आईसीटी अवार्ड’मा यस वर्ष १३ विधासहित सातै प्रदेशका स्टर्टाअपहरुलाई सम्मान गर्नेगरी आवेदन खुला गरिएको हो। 

यस वर्ष आइटी प्रोफेसनलहरुलाई लक्षित गरेर प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३ विधा थप गरिएको छ। अवार्डमा स्टार्टअप तथा इन्नोभेसनसम्बन्धी विधाहरुमा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधाहरु रहेका छन्। यसैगरी व्यत्तिगत उपलब्धीको आधारमा प्रदान गरिने विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा र वुमन आइकन आईसीटी अवार्ड विधाहरु समावेश छन्। डिजिटल रुपान्तरणमा अभ्यासरत सस्थाहरुलाई प्रदान गर्ने अवार्ड विधाहरुमा डिजिटल एजुकेसन पब्लिक र प्राइवेट सेक्टर, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२३ रहेका छन्। यसैगरी सार्क देशहरुका स्र्टाटअपहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२३ विधामा पनि नोमिनेसन खुल्ला जारी छ। 

सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ। यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन’ पनि सुरु गरेको छ। सातै प्रदेश र काठमाडौैंमा प्रि(इभेन्टको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए। यसैगरी स्टार्टअप, आइडिया र इन्नोभेसनको पिचिङ सहित छनौट प्रक्रियालाई कान्तिपुर टेलिभिजन मार्फत पनि विशेष एपिसोड प्रशारण गरिने आयोजकले जनाएको छ। 

आईसीटी अवार्डको छनौट प्रक्रिया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ। भदौ तेस्रो हप्तादेखि सञ्चालन हुने अवार्डको छनौट प्रक्रियाका लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेसन सेसनहरु सञ्चालन हुनेछन्। जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरुसहित १४ जना विज्ञ छन् भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यत्तिहरु रहेका छन्। साउथ एसिया स्टार्टअप अवार्डका लागि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकालगायतका देशहरुबाट विज्ञ जुरी समितिमार्फत छनौट प्रक्रिया सञ्चालन गरिनेछ। 

आवेदन दर्ताका लागि आधिकारिक वेबसाइट https://ictaward.org मार्फत विवरण बुझाउन सकिन्छ। 

आफू स्वयं वा अन्य कोहीले सम्बन्धित व्यत्ति, कम्पनी वा सस्थाको सम्पूर्ण विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिनेछ। स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाका लागि भदौ १५ र अन्यका लागि भदौ ३१ गतेसम्म नोमिनेसन बुझाउन सकिने आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

यी हुन् आईसीटी अवार्ड–२०२३ का १३ विधा 

आईसीटी अवार्ड २०२३ मा १३ विधामा अनलाइन नोमिनेसन खुला गरिएको छ। नोमिनेसन दर्ता गर्न आधिकारिक वेबसाइट apply.ictaward.org मा गएर लगइन गरेर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक विवरण उल्लेख गरी अनलाइन फारम बुझाउनुपर्नेछ। नोमिनेसनको अन्तिम मिति यहि साउन ३१ गते रहेको छ। 

१. स्टार्टअप आईसीटी अवार्ड 

आईटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ। यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरुले आवेदन दिन सक्नेछन्।

२. प्रडक्ट आईसीटी अवार्ड 

आईसीटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह  वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेसन दर्ता गराउन सकिनेछ। वि.स २०७९ सालमा सार्वजनिक भएका आइटी प्रडक्टहरुलाई लिएर यस विधामा नोमिनेसन दर्ता गर्न सकिन्छ। 

३. राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड 

राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरु तथा ३० वर्ष मुनिका युवाहरुको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इन्नोभेसन तथा प्रडक्टहरुलाई लिएर नोमिनेसन दर्ता गर्न सकिनेछ। 

४. प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड 

यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड विधामा आईसीटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तीमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपुर्ण योगदान, विशेष कामको आधारमा आईसीटी प्रोफेसनलहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन्। 

५. पायोनियर आईसीटी अवार्ड 

यो अवाडर, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ। यस विधामा नोमिनेसन दर्ता गर्न यस क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव आवश्यक पर्दछ। 

६. नेपाली डायस्पोरा आईसीटी अवार्ड 

नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आईसीटीको माध्यमबाट देश र यस क्षेत्रमा पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेसन दर्ता गर्न सकिनेछ। 

७. आन्टरप्रेनर आईसीटी अवार्ड 

आन्टरप्रेनर आईसीटी अवाडर, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ। नोमिनेसनका लागि आईसीटी उद्यमीको रुपमा कम्तीमा ७ वर्षको अनुभव आवश्यक रहेको छ। 

८. वुमन आइकन आईसीटी अवार्ड 

वुमन आइकन आईसीटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरुका लागि लक्षित छ। यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आईसीटीको क्षेत्रमा उदाहरणीय काम गरेका महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन्। 

९. डिजिटल एजुकेसन आईसीटी अवार्ड (पल्लिक सेक्टर)

डिजिटल एजुकेसन आईसीटी अवार्ड, आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन्।

१०. डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइवेट सेक्टर)

डिजिटल एजुकेसन आईसीटी अवार्ड आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइ तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका नीजि शैक्षिक संस्थाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन्।

११. डिजिटल गभर्नेन्स आईसीटी अवार्ड 

यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलीकरण गर्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन्। 

१२. डिजिटल सर्भिसेस आईसीटी अवार्ड

यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइन मार्फत सेवा दिइरहेका कम्पनीहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन्। यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरुबाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरुले सहभागिता जनाउन सक्नेछन्। 

१३ साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड

यस विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपले सहभागिता जनाउन सक्नेछन्। ५ वर्षसम्मका स्टार्टअपले यस विधामा नोमिनेसन दर्ता गर्न सकिनेछ।