सुनिल खतिवडा, दायीत्व व्यवस्थापन एवम् बाह्य मामिला प्रमुख-
माछापुच्छ्रे बैंक लिमीटेड
माछापुच्छ्रे बैंक डिजिटल बैंकिङको मामिलामा पहिलेदेखि नै अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रेसिभ देखिन्छ, पछिल्लो समय तपाईहरुले रेमिट्याप भन्ने डिजिटल सेवा ल्याउनु भयो । जुन नेपालको वाणिज्य बैंकिङ इतिहासमै पहिलो भएको भनेर दाबी गरिरहनु भएको छ । यसको बारेमा अलि विस्तृत रुपमा बताइदिनुस् ।
बजारमा अन्य वालेट सुविधाहरु छँदै छन् र अहिले झनै यसको संख्या थपिदैछ । यस्ता विभिन्न वालेटहरुले मार्केट होल्ड गरिरहेका छन् । हाम्रो पनि मोबाइल बैंकिङ त छदैछ । जसबाट हामीले हाम्रा ग्राहकहरुलाई विभिन्न सेवाहरु दिइरहेका छौँ । तर हाम्रा १० लाख ग्राहकभन्दा बाहिरको जुन जनसंख्या छ, जसको बैंकमा सहज पहुँच छैन, त्यस्तालाई समेट्नका लागि हामीले यो सेवा ल्याएका हौँ । बैंक भनिसकेपछि हामीसँग स्र्टेन्थ छ, टेक्नोलोजी छ र सँगसँगै बैंकिङ प्रडक्टहरु पनि छन् । त्यहि भएर बैंकले एउटा वालेट लञ्च गर्यो भन्नु बैंकिङ सुविधाहरु गाउँ गाउँमा पुर्याउनु हो । त्यसैले गाउँ गाउँमा बैंकिङ सेवा पुर्याउनका लागि नै हामीले पनि यो वालेट सेवा ल्याएका हौँ ।
यो वालेटमा हामीले विशेषगरी केही नयाँ कुराहरु ल्याउन खोजेका छौँ । वालेटमा हुने युटिलीटी पेमेन्टका कुराहरु त हुने भइ नै हाल्यो । यसबाहेक हामीले यसको अन्तर्राष्ट्रिय नेटवर्क बनाउन खोजेका छौँ । रेमिट्यापलाई हामीले विभिन्न देशमा पुर्याउन खोजिरहेका छौँ । यसको सुरुवात हामीले नेपालबाट गरेका छौँ । यसको विस्तार प्रक्रिया विस्तारै अन्य देशहरुमा पनि बढिरहेको छ र वालेटमार्फत विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउनु यसको मुख्य उद्देश्य हो । अहिले नेपालमा रेमिट्यान्स भित्र्याउने प्रक्रिया परम्परागत नै छ । अहिले एक्सचेन्ज हाउसहरुमा गएर अथवा रेमिट्यान्सको काउण्टरमा गएर नगद बुझाएर पैसा पठाउने कार्य भईरहेको छ । उताबाट पठाएको रकम झिक्न पनि रेमिट्यान्स एजेन्टकोमा गएर झिक्नुपर्ने बाध्यता छ । हामीले रेमिट्यापमार्फत यो प्रक्रियालाई डिजिटलाइज गर्न खोजेका हौ । हामीले यो सेवा सुरुवात गरिसकेपछि विदेशमा बसोबास र काम गर्ने नेपालीहरुले आफ्नो मोबाइलबाटै आफ्ना परिवारका सदस्यहरुलाई पैसा पठाउन सक्छन् । यता पनि परिवारका सदस्यहरुले रियल टाइममा नै पठाएको पैसा वालेटमार्फत प्राप्त गर्न सक्छन् । वालेटमा पैसा आइसकेपछि कसैलाई पैसा पठाउने कि, अन्य बिलहरु भुक्तानी गर्ने कि अथवा नगद नै निकाल्ने कि, यी सबै अप्सनहरु खुला रहन्छन्।
यो त भयो अन्तराष्ट्रिय रेमिट्यान्स भित्र्याउने कुरा । अर्को नेपालभित्रैको एक ठाउँबाट अन्य जुनसुकै ठाउँमा सजिलै पैसा पठाउन पनि यसले सहयोग गर्छ । तपाईको बैंक खाता भए पनि नभए पनि, खाता जुनसुकै बैंकमा भएपछि यो वालेटबाट पैसा सजिलै पठाउन सकिन्छ ।
रेमिट्यान्स काउन्टरमा गएर पैसा पठाउँदा शुल्कहरु तिर्नुपर्ने हुन्छ । वालेटमार्फत चाहि पैसा पठाउँदा शुल्कको कस्तो व्यवस्था छ ?
हामी यो विषयमा पनि केन्द्रित भएका छौँ । वालेटमार्फत पैसा पठाउँदा एकदमै न्यून शुल्क हुनुपर्छ भन्ने कुरामा हामीले तयारी गरेका छौँ । अहिले नै हामीले ट्यारिफ तय गरिसकेका छैनौँ । यसका रेमिट्यान्स फिचरहरु अझै लञ्च हुन बाँकी छन् । पैसा पठाउँदा यसमा एजेन्टको सहभागिता नहुने हुँदा रेमिट्यान्स ल्याउन हामीलाई नै खर्च कम पर्न जान्छ । त्यही भएर हामीले रेमिट्यान्स पठाउनेलाई कम शुल्क लिन सक्छौँ ।
अन्य फिचरहरु कस्ता छन् ?
यसका अन्य विशेषताहरु भन्नुपर्दा हामीले यसमा भर्चुअल कार्डको व्यवस्था गरेका छौँ । यो वालेटमा तपाईले आफैं भर्चुअल कार्ड बनाउन सक्नुहुन्छ । यसरी बनाएको भर्चुअल कार्डलाई तपाईले एउटा मोबाइलबाट अर्काे मोबाइमा सेयर गर्न सक्नुहुन्छ । त्यही भर्चुअल कार्डको माध्यमबाट पैसा निकाल्न र भुक्तानी गर्न सकिन्छ । जस्तै हामीले मर्चेन्टको नेटवर्क विस्तार गरिरहेका छौँ । भोलि गएर तपाईले त्यही कार्डलाई स्क्यान गरेर मर्चेन्टले पेमेन्ट लिन सक्छ । यसलाई हामीले गिफ्टको टुल पनि बनाएका छौँ । जस्तै मसँग वालेट छ र तपाईसँग छैन भने पनि मैले तपाईलाई भर्चुअल कार्ड बनाइदिएर पठाए भने तपाईले त्यसको प्रयोग गर्न सक्नुहुन्छ । तपाईले त्यो कार्डको फाटो मात्रै लिएर पनि सपिङ गर्न र कहिबाट पैसा निकाल्न सक्नुहुन्छ । यो फिचर नेपालमा अहिलेसम्म नभएको फिचर हो । जसबाट कार्डलाई जेनेरेट गर्ने, कार्डलाई रिडिम गर्ने, कार्डलाई भुक्तानी गर्ने, कार्डलाई ट्रान्सफर गर्ने सबै हुन्छ । यी सबै भर्चुअल्ली हुन्छ र त्यसका लागि तपाईसँग भौतिक कार्ड भइरहन आवश्यक पर्दैन ।
यसको अर्को नयाँ विशेषता भनेको यो एउटै एपबाट उपभोक्ता र व्यापारी दुवैले सेवा लिन सक्छन् । जस्तै तपाईले कुनै भुक्तानीहरु गर्नुपर्नेछ, सामानहरु किन्नुपर्नेछ अथवा पैसा पठाउनु पर्नेछ भने तपाईले आफ्नो यूजर बनाएर गर्न सक्नुहुन्छ । यस्तै यही एपको प्रयोगबाट व्यापारीले पनि सामान बिक्री पश्चात भुक्तानी लिने काम गर्न सक्छन् । अहिले बजारमा ग्राहकले प्रयोग गर्ने र व्यापारीले प्रयोग गर्ने अलग–अलग एपहरु छन् । तर, यसमा एउटै एपबाट ग्राहक र व्यापारीले सेवा लिन सक्छन् । यसबाहेक अन्य थुप्रै चिजहरु पनि छन् । जुन हामीले यसमा समेट्न चाहिरहेका छौँ र अहिले ती सबै पाइपलाइनमै छन् । निकट भविष्य हामी यसमा अन्य फिचरहरु थप्दै यसलाई अझै परिष्कृत र समयसापेक्षित बनाउँदै जानेछौँ ।
लञ्च गरेको केही दिनमात्रै भयो । लञ्च गरिसकेपछि तपाईहरुले यसबाट के–कस्ता प्रतिक्रियाहरु पाइरहनु भएको छ ?
हामीले यो लञ्च गरेको धेरै दिन त भएको छैन । अहिले हामीले एउटा लञ्चिङ क्याम्पेन पनि गरिरहेका छौँ । जसअन्तर्गत यसमा अकाउन्ट बनाउने पहिलो एक हजार जनालाई क्यास इन्सेन्टिभको व्यवस्था गरेका छौँ । यस्तै एक महिनासम्म मोबाइल टपअप गर्दा क्यासब्याकको व्यवस्था गरेका छौँ । यसैगरी हामीले रेफरल क्याम्पेनको सुरुवात पनि गरेका छौँ । जस्तै एकजना मानिसले यसमा वालेट अकाउण्ट बनाउनु भयो र उहाँले वालेट नहुने अन्यलाई रिफर गर्नु भयो भने उहाँले पनि क्यास इन्सेन्टिभ पाउनुहुन्छ । यस्ता क्याम्पेनहरु लञ्च गरिरहेका भएर हाम्रो कलसेन्टर र सामाजिक सञ्जालहरुमा विभिन्न जिज्ञासा र प्रश्नहरु पनि आईरहेका छन् र मानिसहरुमा यसप्रतिको आकर्षण बढिरहेको छ ।
तपाईले अफरहरुको कुरा गर्नु भो, कस्ता अफरहरु हुन् ?
अफर भन्नुपर्दा हामीले यो सेवा लञ्च गरिसकेपछि पहिलो एक हजार व्यक्तिहरु, जसले यो एप डाउनलोड गरेर हामीलाई रजिष्टर गरेर केवाईसी अपडेट गर्नुहुन्छ, उहाँहरुलाई हामीले १०० रुपैयाँ क्यास इन्सेन्टिभ प्रदान गर्दछौँ । अर्काे सबैभन्दा धेरै प्रयोग भईरहेको अफर भनेको मोबाइल टपअप हो । मोबाइल टपअप गर्दा साढे ३ प्रतिशतसम्म क्यासब्याक पाउनुहुन्छ । जुन लञ्च गरेको दिनदेखि एक महिना रहन्छ । अर्काे अफर रेफरल क्याम्पेन रहेको छ । जसअन्तर्गत यूजर भईसकेकाले अन्यलाई यो वालेट डाउनलोड गर्न रिफर गर्नु भयो र सो व्यक्तिले डाउनलोड गर्नुभयो भने एउटा रिफरल बराबर हामीले २० रुपैयाँ प्रदान गछौँ ।
पछिल्लो समयमा २६ लाख बढीले डिम्याट खाता खोलेका छन् । मानिसहरु घरमै बसेर सेयर कारोबार गर्न थालेका छन् । यो वालेटबाट सेयर किनबेचको भुक्तानी गर्नसक्ने व्यवस्था हुन्छ कि हुँदैन ?
वास्तवमै पछिल्लो समय सेयरको कारोबार पनि डिजिटलाइज हुँदै गइरहेको छ । जस्तै हाम्रै मोबाइल बैंकिङमार्फत पनि कतिपय ब्रोकरहरुको पेमेन्ट गर्न सक्ने व्यवस्था छ । हाम्रो लक्ष्य भनेको हाम्रो जति पनि डिजिटल च्यानलहरु छन्, त्यसलाई जोड्दै जाने हो । एउटै च्यानलको प्रयोगबाट सबै सुविधाहरु प्रदान गर्ने योजनामा हामी छौँ । अहिले इन्टर अपरेटरको कुरा पनि आईरहेको छ । एउटा वालेटबाट अर्काे वालेटमा ट्रान्सफर गर्ने अथवा एउटा नेटवर्कको क्यूआरबाट अर्काे नेटवर्कको क्यूआरमा पेमेन्ट गर्ने कुराहरु सुरुवात भइसकेको छ । यसका लागि केही नेटवर्कहरुले एकआपसमा टाइअप पनि गरिसकेका छन् । हामी पनि अन्य नेटवर्कहरुसँग टाइअप गछौँ र यसका लागि केही नेटवर्कसँग छलफल पनि भइरहेको छ । यो भइसकेपछि तपाईले भने जस्तो ब्रोकरलाई गर्ने पेमेन्ट र अन्य थुप्रै सेवाहरु थप्दै जानेछौँ ।
माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङमा राम्रो गरिरहेको देखिन्छ । अझ तपाईको नेतृत्वमा यसले तीव्रता पाइरहेको छ । तपाईले यो एप ल्याउँदा 'नेपालको कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक यस्तो सेवाको सुरुवात हुँदैछ' भन्नु भयो । पछिल्लो समय डिजिटल बैंकिङको कुरा गर्दा हामी अन्यको तुलनामा कस्तो स्थानमा छौँ ?
बितेका वर्षहरुमा हामी डिजिटल बैंकिङमा केन्द्रित हुनुपर्छ भनेर लागिरहेका छौँ । अबको भविष्य डिजिटल बैंकिङ हो भन्ने मान्यताका साथ हामी छुट्टै योजना र रणनीति बनाएर अघि बढिरहेका छौँ । पछिल्ला एक डेढ वर्ष फर्केर हेर्ने हो भने हामीले डिजीटलाइजेसनको क्षेत्रमा थुप्रै काम गरेका छौँ । जस्तै हाम्रो मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सुविधाहरु पहिले छँदै थियो । पछिल्लो समय यसलाई हामीले अझै व्यवस्थित र परिष्कृत बनाउँदै गईरहेका छौँ । ग्राहकहरुलाई भौतिक रुपमा बैंक नगईकन कसरी सहज सुविधा प्रदान गर्न सकिन्छ भनेर लागिपरेका छौँ । यसका लागि हामीले नेपालमा पहिलोपटक कृत्रिम बौद्धिकतामा आधारित च्याटबट ‘माया’ ल्याएका थियौं । जसमा ग्राहकरुले बैंकिङसँग सम्बन्धित समस्याहरु र जिज्ञासाहरु मेसेन्जरबाट पठाउन सक्छन् र च्याटबटले यसलाई अटोमेटिक रुपमा रेसपोन्स गर्छ । यसको अलावा हामीले आन्तरिक डिजिटलाइजेसनमा समेत काम गरेका छौँ । कल सेन्टरमा हामीले अत्याधुनिक सफ्टवेयर राखेका छौँ । जसको माध्यमबाट कल सेन्टरमा फोन गर्दा समेत सम्पूर्ण जानकारी त्यहाँबाट पाउन सकिन्छ । मोबाइल र इन्टरनेट बैंकिङलाई अपग्रेड गर्नुका साथै हामीले पस र क्यूआर कोडको नेटवर्कलाई विस्तार गर्यौं । यस्तै हामीले पहिलोपटक वीच्याट सेवा ल्यायौ । चीनीयाँ पर्टयकहरुले वीच्याटको अत्यधिक प्रयोग गर्ने भएकाले उनीहरुलाई भुक्तानीमा सहजता होस् भन्ने अभिप्रायले चीनीया नागरिकलाई लक्षित गर्दै वीच्याट वालेट सेवा ल्याएका हौँ । अहिले पर्यटकहरुको आगमन त्यति छैन तर आउने दिनहरुमा यसले माइलेज पाउने निश्चित छ । त्यस्तै अहिले हामीले अनलाइनबाटै खाता खोल्ने र क्रेडिट कार्डका लागि अप्लाई गर्ने व्यवस्था गरेका छौँ । कन्ट्याकलेस कार्ड जस्ता केही फिचरहरु पाइपलाइनमै छन् ।
अनलाइनबाट खाता खोल्ने सुविधाहरु नेपालका अन्य धेरै बैंकहरुले पनि प्रदान गरिरहेका छन् । अनलाइनबाट ऋणको अप्लाई गर्ने जस्ता फिचरहरु हाम्रो मार्केटमा सम्भव छ कि छैन ?
सम्भव छ । तर केही प्रकारका ऋणहरुको धितोका लागि साइट भिजिट गर्नुपर्ने हुन्छ । अन्य धेरै कुराहरु त हामीले डिजिटलाइज गरिसकेका छौँ । यसको सुरुवात हामीले क्रेडिट कार्डबाट गरेका छौँ । जुन एक प्रकारको ऋण नै हो । क्रेडिट कार्डको सुविधा सम्पूर्ण रुममा अनलाइनबाटै हुन्छ । डकुमेन्टेसन पुगे नपुगेको र कार्ड प्रिन्टीङ समेत अनलाइनबाटै हुन्छ । कार्ड हस्तान्तरण गर्न मात्रै बैंक आउनुपर्छ । त्यस्तै लोनको पनि अनलाइनबाटै सबै प्रक्रिया गर्ने व्यवस्थाको तयारी भईरहेको छ ।
तपाईहरु डिजिटल बैंकिङमा आक्रामक रुपमा लागिरहनु भएको छ । ग्राहकहरु कत्तिको इन्टरनेटमैत्री पाउनु भएको छ ? ग्राहकहरु यसप्रति कत्तिको अभ्यस्त छन् ?
एकदमै सही प्रश्न गर्नु भयो । अहिलकोे यक्ष प्रश्न नै यही हो । हामीकहाँ सिस्टम, सफ्टवेयर छ, सारा सेवाहरु विकास गर्यौ । तर जबसम्म यो ग्राहकहरुमाझ पुग्दैन त्यसको अर्थ रहदैन । नेपालमा डिजिटल बैंकिङ प्रयोगकर्ता शहर केन्द्रित छन् । पछिल्लो समय शहरहरुमा डिजिटल बैंकिङ प्रयोकर्ताहरु ह्वात्तै बढेका छन् । अझ कोरोना महामारीले गर्दा त डिजिटल कारोबार गर्नेको संख्यामा व्यापक बढोत्तरी आएको छ । तर हामीले अझै पनि व्यापक जनस्तरमा यसलाई पुर्याउन सकेका छैनौ । आशावादी हुने केही कारणहरु पनि छन् । जस्तै अहिले स्मार्टफोनको प्रयोगकर्ता बढेका छन् । जसको माध्यमबाट एप डाउनलोड गरेर बैंकिङ सेवा लिन सकिन्छ । यो हाम्रा लागि प्लस प्वाइन्टका रुपमा रहेको छ । अर्काे भनेको इन्टरनेटको पहुँच हो । नेपालमा पछिल्ला वर्षहरुमा इन्टरनेटको विस्तारमा तीव्रता आएको छ । डिजिटल बैंकिङ गर्नका लागि इन्टरनेटको प्रयोग नभई नहुने कुरा भएकाले यसको पहुँच विस्तारले डिजिटल बैंकिङमा सहयोग पुर्याएको छ । बैंकको तर्फबाट डिजिटल बैंकिङका लागि चाहिने सम्पूर्ण पूर्वाधारका लागि हामी तयार छौँ र जनतामाझ पुर्याउनका लागि पूर्वाधार पनि तयार भइसकेको छ । तर आम सर्वसाधारणमाझ डिजिटल सचेतनाका पुर्याउनु चुनौतिको रुपमा रहेको छ । कुल जनसंख्याको तुलनामा हेर्ने हो भने यसका प्रयोगकर्ता नगण्य मात्रामा रहेको छ । नेपालमा यसको सम्भावना एकदमै धेरै छ । एटिएम प्रयोगकर्ताको संख्या नेपालमा उल्लेख्य वृद्धि भएको छ । यसको प्रयोगमा मानिसहरु अभ्यस्त भइसकेको अवस्था छ । मोबाइल बैंकिङमा पनि अलर्ट सेवामा मात्रै ग्राहकरु सन्तुष्ट भइरहेका छन् । यसबाहेक फन्ड ट्रान्सफर जस्ता सेवाहरु लिनबाट भने ग्राहकहरु पछि परिरहेका छन् । यसको वृद्धिका लागि जनचेतनाको वृद्धि र ग्राहकहरुको विश्वास जित्नु आवश्यक देखिन्छ । ग्राहकहरुमाझ डिजीटल कारोबार गर्दा पैसा हराउँछ कि, तलमाथि हुन्छ कि, ह्याकरले लाने हो कि भन्ने भय रहेको पाइन्छ । यस्ता भ्रमलाई चिर्न आवश्यक छ । साथै ग्राहकरुलाई डिजिटल कारोबार कसरी गर्ने भन्ने सिकाउन आवश्यक छ । त्यसका लागि हामीले विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छौँ । यसका लागि हामीले क्यासब्याकको व्यवस्था गरिरहेका छौँ । यसको अलावा हामीले सामाजिक सञ्जालको प्रयोग गरेर जानकारीमूलक सामाग्रीहरु सम्प्रेषण गरिरहेका छौँ। नयाँ पुस्ताले चाँडो ग्रहण गर्ने भएकाले अहिले हामीले विद्यार्थीहरुलाई लक्षित गरेर डिजिटल कारोबारको प्रबद्र्धन गरिरहेका छौँ। विद्यार्थीहरुलाई डिजिटल कारोबारमा अभ्यस्त गराउनका लागि हामीले ‘विद्यार्थी क्रेडिट कार्ड’को व्यवस्था गरेका छौँ । यस्तै हामीले ‘विद्यार्थी खाता’को व्यवस्था गरेका छौ । जहाबाटँ विद्यार्थीहरुले शून्य मौज्दातमा खाता खोल्न सक्छन् । यसप्रकार हामी डिजिटल साक्षरतालाई जोड दिइरहेका छौँ । नेपाल राष्ट्र बैंक पनि यसमा जोडतोडका साथ लागिरहेको छ ।
नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी कारोबारमा केही सीमाहरु तोकेको छ । यसलाई बढाउनु पर्ने आवाजहरु उठिरहेका छन् । यस्ता सीमाहरुले डिजिटल कारोबार प्रवद्र्धन गर्न कस्ता कठिनाईहरु भईरहेका छन् ?
होइन म त राष्ट्र बैंकले प्रोत्साहन नै गरेको देख्छु । अहिले मोबाइल बैंकिङको सीमाहरु पनि बढेको छ । यो सीमा बढाउदै जानुपर्छ । यसमा जोखिम पनि भएकाले थोरै लिमिटबाट सुरु गर्नु पनि राम्रै हो । तर ग्राहकरुको कन्फिडेन्स बुस्ट भएसँगै यसलाई बढाउनु भने पर्छ । अहिलेसम्म राष्ट्र बैंक जिडिटलमैत्री नै छ ।
अन्तिममा, एउटा प्रोजेक्सन गरौँ न । यूरोप–अमेरिकातिर जानुभयो भने बैंक हुँदैन, बैंकिङ हुन्छ । त्यहाँ डिजिटल बैंकिङमा मानिसहरु अभ्यस्त छन् । तपाई बैंकिङ क्षेत्रमा लामो समय लाग्नु भएको हिसाबले नेपालको सन्दर्भमा यहाँ सम्पूर्ण रुपमा डिजिटल कारोबार हुन कति समय लाग्ला ?
मेरो विचारमा वर्तमान अवस्थामा नेपालमा डिजिटल बैंकिङ एकदमै वृद्धि भइरहेको छ । युरोप अमेरिकाजस्तो पूर्ण डिजिटलाइजेशन हुन केही समय त पक्कै लाग्ला । सहरी क्षेत्रमा भने ५ देखि ७ वर्षको अवधिमा यस्तो अनुभव गर्न सकिन्छ जस्तो लाग्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago