काठमाण्डौ । सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम एनएमडीपी दोस्रो चरणको कार्यक्रम ‘एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम’ अन्तर्गत ८ वटा कृषि व्यवसायमा आधारित आइडिया छनौटमा भएका छन्। 

एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम एउटा यस्तो प्लेटफर्म हो। जसले प्रदेश १ का कृषि उद्यमीहिरुमा उद्यमशिलताका सिप र सोचाईहरुको विकास गर्ने लक्ष्य लिएको छ। उक्त कार्यक्रममार्फत छनौट भएका ८ आइडियाहरुले व्यवसाय वृद्धि विकास तथा विस्तारीकरणका लागि विजनेस इन्क्युबेसन, मेन्टरसिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच, एग्री बिजनेससम्बन्धी विज्ञहरुको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्महरुको अवसर पाएका छन्। कार्यक्रमको अन्तिम चरणको रुपमा विराटनगरमा डेमो डे यही जेष्ठ ९ गते आयोजित गरिएको थियो। 

उक्त ‘डेमो डे’ मा कृषि मन्त्रालयका प्रदेश मन्त्रि झलक बहादुर मगर, कृषि मन्त्रालयका प्रदेश सचिव मेगनाथ तिमल्सेना, स्विस सरकार विकास सहयोग एसडीसीका आयूष राई, कृषि मन्त्रालयका प्रदेश योजना प्रमुख पशुपति पोखरेल, सहज – नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणको टिम लिडर रिक भेन डर क्याम्प, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, पूर्वान्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा. बिजु कुमार थपलिया, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा गरी विभिन्न प्राज्ञिक व्यक्तित्व, मिडियाकर्मी तथा उद्यमशिलताको क्षेत्रमा काम गरिरहेको विभिन्न व्यक्तित्वहरुको उपस्थिति थियो। 

‘डेमो डे’ मा छनौट भएका ८ कृषि व्यवसाय– शखाबुङ डेरी उद्योग, समृद्ध नेपाल कृषि सहकारी, नमुना कृषि, रितिरिवाज आइसक्रिम, कुमारी फुड्स, ग्रिन प्लानेट मिसन, पाकशाला, किसानपिडियाहरुले आफ्नो व्यवसाय विचारहरु प्रस्तुत गर्नुका साथै आफूले बनाएका समानहरु पनि उपस्थित व्यक्तित्वहरुबीच प्रदर्शन गरेका थिए। 

यसरी एग्री बिजनेस इन्क्युबेसन प्रोग्राममार्फत सहभागीहरुले आफ्नो व्यावसायिक आइडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यावसायिक रणनीति बनाएर मार्केट रेडी कमर्सियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न लक्ष्यले अगाडी बढ्का छन्। 

विकास तथा सहकार्यका लागि सहजद्वारा सुरु गरिएको परियोजना, आइडिया स्टुडियो नेपाल, कृषि मन्त्रालय प्रदेश १, पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संगठनको सहकार्यमा सुरु भएको यस कार्यक्रम आफैमा पृथक कार्यक्रम हो। यस कार्यक्रमले प्रदेश नम्बर १ मा उद्यमशीलताको सीप र सोचाइको विकास गर्दै स्थानीय संघसंस्थाहरुको उद्यमशीलताको क्षमतालाई समेत बढाउने उद्देश्य लिएको छ।