काठमाण्डौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले ‘द भ्वाइस किड्स नेपाल’ सँग एकमात्र भोटिङ पाटर्नरका रुपमा साझेदारी गरेको छ।

कार्यक्रम कात्तिक २६ गतेबाट औपचारिक रुपमा हिमालय टिभीमा प्रसारण भएको थियो र अहिलेसम्ममा थुप्रै फ्यान बटुलिसकेको छ। कार्यक्रममा प्रशिक्षक/निर्णायकका रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन्। 

यसबारे ‘खल्ती’ का सहसंस्थापक अमित अग्रवालले भने, ‘हामी ‘हिमालयन टीभी’ र ‘द भ्वाइस किड्स नेपाल’ सँग यस कार्यक्रमको पहिलो संस्करणका लागि साझेदारी गर्न पाउँदा उत्साहित छौँ। ‘द भ्वाइस किड्स नेपाल’ लाई हाम्रो देशको सांस्कृतिक तथा सांगीतिक परिवेश झल्काउँदै यहाँ रहेको अथाह प्रतिभा देखाउन अवसर दिने एक उत्कृष्ट मञ्चका रुपमा हामीले लिन सक्छौँ।’ 

‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टीभी गायन प्रतियोगिताको एक फ्रान्चाइज हो, जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक शोबाट सुरु भएको थियो। तीन सफल शृंखलाहरुलगत्तै ‘द भ्वाइस’ ले बालबालिकालाई केन्द्रित गरेर ‘द भ्वाइस किड्स नेपाल’नामक नयाँ शृंखला लिएर उपस्थित भएको छ।

रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ हिमालयन टीभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुन्छ। अहिले कार्यक्रम ब्लाइन्ड अडिसन राउन्डमा चलिरहेको छ। जुन समाप्त भएपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन्। ब्याटल राउन्डको अन्त्यसँगै लाइभ राउन्ड सुरु हुनेछ। जसमा दर्शकले आफ्नो मनपर्ने उम्मेदवारलाई ‘खल्ती’ एप प्रयोग गरी भोट गर्न सक्नेछन्।

२० लाखभन्दा बढी प्रयोगकर्ता भएको खल्तीले विगत ४ वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउँदै आइरहेको छ। ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टीभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ।