काठमाण्डौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग एकमात्र भोटिङ र टिकटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ। यस साझेदारीपश्चात अब खल्ती प्रयोगकर्ताले आफूलाई मनपर्ने ‘द भ्वाइस नेपाल’का प्रतियोगीलाई ‘खल्ती’ मार्फत भोट गर्न सक्नेछन्। यसका साथै ‘द भ्वाइस नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन्। 

‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाइज हो। जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। धेरै दर्शकको मन जित्न सफल भएको, ‘द भ्वाइस’ ले यस अघि ३ शृंख्लामा ‘द भ्वाइस नेपाल’का साथै बालबालिकालाई केन्द्रित गरी आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि सञ्चालन गरिसकेको छ। लगातार सफलतापछि यसपटक युवालाई लक्षित गरी ‘द भ्वाइस नेपाल’ चौथो शृंखलातर्फ अगि बढेको छ।

रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टीभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रम भदौ २४ गतेबाट औपचारिक रुपमा हिमालय टीभीमा प्रसारण हुनेछ। 

कार्यक्रममा कोच र निर्णायकका रुपमा गायक प्रविशा अधिकारी, राजु लामा, प्रमोद खरेल र राजेश पायल राई देखा पर्नेछन्। यस कार्यक्रमको सुरुआत ब्लाइन्ड अडिसन राउन्डबाट हुनेछ। जुन समाप्त भएपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन्। ब्याटल राउन्डको अन्त्यसँगै लाइभ राउन्ड सुरु हुनेछ। जसमा दर्शकले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरी भोट गर्न सक्नेछन्।
यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी हिमालयन टीभी र द भ्वाइस नेपालसँग एकमात्र भोटिङ पार्टनरका रुपमा पुनः सहकार्य गर्न पाउँदा निकै खुसी छौँ। हामी आशा गर्छौं कि हाम्रो सहकार्य द भ्वाइस नेपालका प्रतियोगी साथै दर्शकका लागि पनि यो प्रतियोगितालाई लक्षित गरेर विभिन्न अफर पनि ल्याउने तयारीमा छौँ।’

खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गरेको छ। करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार बढी एजेन्ट नेटवर्कका साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ता छन्। यसमार्फत प्रयोगकर्ताले बिलहरु भुक्तानी, मोबाइल र टीभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र अन्य धेरै सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन्। 

यसका साथै खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरुले पनि धेरै साना तथा ठूला व्यवसायलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको छ।