बाग्लुङ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताएका छन् । 

बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा मंगलबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ढकालले महासंघले देशमा तीन तहको सरकार बनेपछि देखिएका द्विविधाका विषयहरुमा सरकारसँग वार्ता र सम्वादमार्फत समाधान खोज्ने बताए । 

‘तीन तहको सरकार बनेपछि नयाँ कानुन बनाउने क्रममा कतिपय नियमकानुनहरु सरोकारवालासँग छलफल नै नगरी आएकाले व्यवसायीहरुमा केही द्विविधा सिर्जना भएको छ ।’ उनले भने–‘सरोकारवाला पक्षसँग छलफल नै नगरी, जानकारी नै नदिई आएका यस्ता कानुनहरु व्यवहारिक हुँदैनन् ।’

उनले स्थानीय स्रोत साधनको प्रयोग हुने र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कुनै न कुनै आयोजना बागलुङमा तत्काल सुरु गर्न बागलुङका स्थानीयव्यवसायीहरुसँग छलफल भइरहेको बताए । 

ढकालले भने–‘व्यवसायीहरुले चुनावको समयमा जिल्लामा पुगेर धेरै आश्वासनहरु दिने गरेका भन्ने सुनिन्छ । म त बागलुङमै जन्मिएको हो । भाषण भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने मलाई लागेको छ । म के भन्न चाहन्छु भने, म जे बोल्छु, त्यो कार्यन्वयन गरेरै छोड्छु । हामीले केही समयमै कुनै न कुनै काम यहाँ सुरु गर्नेछौं ।’

उनले आफ्नो व्यवसायिक नेटवर्क सबै जिल्ला, नगरमा रहेकोले चुनावपछि नेतृत्वले जिल्लाका गुनासा नसुनेको भन्ने व्यवसायीको गुनासाहरु आफ्नो हकमा लागू नहुने दाबी गरे । 

‘७७ वटै जिल्लामाहाम्रो व्यवसायिक नेटवर्क छ । हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्लानगरका साथीहरुलाई महासंघको केन्द्रीय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न सजिलो हुनेछ । यहीँ नेटवर्कका माध्यमबाट पनि मैले स्थानीय व्यवसायी, सरकार तथा केन्द्रबीच पुलको रुपमा काम गर्नेछु ।’ उनले थपे ।

यसअघि बागलुङ महोत्सवका अवसरमा बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको आगामी ५४औं वार्षिक साधारण सभामा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गरेको थियो ।