काठमाण्डौ । पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको ‘माई पे’ डिजिटल वालेटले नयाँ विशेषताको रुपमा ‘माई पे क्वाइन’ सार्वजनिक गरेको छ। १ क्वाइन बराबर रु. १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पेले जनाएको छ। 

माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो। 

यससँगै माई पे प्रयोगकर्ताले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरुसमेत निरन्तर रहेको जनाएको छ। यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाँढिएको माई पेको भनाइ छ। 

उदाहरणका लागि तपाइँले माई पे बाट रु. १ हजारको मोबाइल टपअप गर्नुभयो भने ४ प्रतिशत (रु. ४०) फिर्ता हुन्छ। जसमा रु. २० क्यासकोरुपमा तपाइँको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनका रुपमा जम्मा हुन्छ। माई पेबाट गरिएको सबै कारोबारमा यसरी नै क्वाइन प्राप्त गर्न सकिने माई पे को भनाइ छ। 

यसरी प्राप्त भएको क्वाइन अब ग्राहकले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन्। मानौँ अघिको तपाइँको पहिलो कारेबारबाट २० क्वाइन जम्मा भएको छ। अब तपाइँले अर्काे कारोबारका रुपमा रु. १ हजारको कुनै इन्टरनेटको बिल भुक्तानी गर्नुभयो। अब तपाइँले बिल भुक्तानी गर्दा तपाइँको माई पे वालेटमा तीनवटा विकल्प देखाउँछ।

पहिलो विकल्प छनौट गर्दा तपाइँको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पका रुपमा तपाइँले वालेटमा बैंक लिंक गर्नुभएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ। तेस्रो विकल्पका रुपमा तपाइँले ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सक्नुहुन्छ। 

जस्तो रु. १ हजारको बिल तिर्दा तपाइँले रु. ९८० तपाइँको बालेटमा भएको रुपैयाँबाट र रु. २० नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सक्नुहुन्छ। यस भुक्तानीपछि पनि तपाइँले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्नुहुनेछ र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पेले जनाएको छ। 

यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माई पेले जनाएको छ। माई पेका अनुसार क्वाइन प्रयोग गर्दा प्रयोग कर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ। 

‘हालसम्म सञ्चालनमा रहेको लोयल्टी पोइन्टहरुको सीमित प्रयोग र यसको प्रयोग गर्दासमेत समस्या रहेको पाइयो’, माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यही समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन सञ्चालनमा ल्याएका छौँ।’