►भोजबहादुर शाह, अध्यक्ष-मेगा बैंक लिमीटेड
मेगा बैंक लिमीटेड निकै संभावना बोकेको बैंक हो । यो बैंकले एउटा इतिहास रच्न खोजिरहेको छ । टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर समयमै सकिएको भए अहिलेसम्म मेगाले सबैभन्दा धेरै पुँजी भएको निजी वाणिज्य बैंकको रुपमा इतिहास बनाइसक्थयो । तर, मर्जरको सहमतिलाई अन्तिम रुप दिन गरिएको महत्वपूर्ण मोड(विशेष साधारणसभा)नै सार्नुपर्ने अवस्था सिर्जना भयो । मंसिर ४ गतेको साधारणसभा स्थगित भएपछिको परिस्थिति कसरी अगाडि बढिरहेको छ ?
-विशेष साधारणसभा(एसजिएम) गणपुरक संख्या पुुग्न नसकेका कारण पुस ४ गतेलाई सार्नुपर्यो । यही कारण हामीले लक्षित गरेको उद्देश्य प्राप्ति हुन सकेन । मेगा बैंकजस्ता प्रकृतिका बैंकहरु, जहाँ सयौं र हजारौंको संख्यामा सेयरहोल्डर छन्, यस्ता संस्थाको साधारणसभामा गणपूरक संख्या पुर्याउन कठिन नै हँुदो रहेछ । मेगा बैंकमा १३ सय बढी त प्रोमोटरहरु मात्रै छन्, सेयरहोल्डर समेत जोड्दा १ लाख ४० हजार छन् । हाम्रा समकक्षी बैंकहरु जस्तैः जनता बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक टाइपका बैंकहरु, जहाँ संख्या बढी छ, त्यहाँ चुनौतिपूर्ण नै हुँदो रहेछ । र, त्यतिबेला गणपुरक संख्या पुुगेन, भनेको समयमा मर्जरको प्रस्ताव पास गर्न सकिएन । अर्कोतर्फ, साथीभाईहरुलाई यो बिषयले टच नगरेको पनि हुनसक्छ । संभवत, फाइनान्सियल रिपोर्ट पास गर्ने, लाभांश पास गर्ने नियमित साधारणसभा भइदिएको भए वा डाइरेक्ट टच भएको संचालक समितिको निर्वाचनको बिषयवस्तुु भइदिएको भए संचालक समितिमा आउन इच्छुक साथीहरु सेयरहोल्डरहरुको घर–घर पुुग्थे ।
त्यो नभएको कारणले र यो बिषयको गाम्भीर्यता र गहिराईको बिषयमा हामीले सेयरहोल्डरहरुलाई पुर्याउन नसकेका कारणले पनि हुनसक्छ गणपूरक संख्या पुुगेन । तत्पश्चात अबको स्थितिमा हामीले टोटल चुक्तापूँजीको २५ प्रतिशतको कभरेजमा उपस्थिति हुँदा वा प्रोक्सी प्राप्त हुँदा गणपूरक संख्या पुुग्छ । तर, हामीले कम्तीमा टोटल चुक्तापुँजीको ६० प्रतिशत प्रोक्सी र उपस्थिति गराउने हिसाबले तयारी गरिरहेका छौ।
गणपुरक संख्या नभएका कारण मात्र अर्को एसजिएममा जानुुपर्यो भन्नुहुँदैछ । एसजिएमको बिषय अदालतसम्म पुुग्यो । संचालक समितिबाटै असन्तुुष्ट छरपस्ट भयो । गणपुरक संख्या मात्र कारण त होइन भन्ने देखियो ? फेरि, नेपालका धेरै वाणिज्य बैंकमध्ये यति साह्रो संचालकले नै आन्तरिक समस्या छरपस्ट पारेको सायद तपाईहरुकै पहिलो हुनसक्छ । यो असन्तुष्टिलाई समयमै किन व्यवस्थापन गर्न सक्नुुभएन ?
-हो यसलाई एउटा इगोको रुपमा केही साथीहरुले लिएर गए । संचालक समितिका धेरै साथीहरु होइन, एकजना मित्र, जसले नोट अफ डिसेन्ट लेख्नुुभएको थियो, उहाँले यसलाई अत्यन्त ठूलो सार्वजनिक महत्वको बिषय बनाउनुुभयो । उहाँको नेतृत्व र सहजीकरणमा अन्य मान्छेहरुलाई संगठित गर्ने काम भयो । अनलाइन मिडियाहरुको दुरुपयोग भयो । अहिले अनलाइन मिडियाहरुको अत्यन्त ठूलो शक्ति हुन्छ, मान्छेले अनलाइन मिडिया र अन्य संचारका माध्यममा प्रसारित भएका कुरालाई आधिकारिक मान्छन् । त्यसले हाम्रा सेयरहोल्डर साथीहरुलाई समेत प्रभाव पार्यो । गलत सूचना र भ्रमहरु प्रवाह भए । जुन कुरा हामीले बेलैमा प्रष्ट पार्न सकेनौ, त्यसलाई चिर्न सकेनौ । बैंकको तर्फबाट पनि कमजोरी भयो, हाम्रो कमजोरीको फाइदा अरुले उठाउने प्रयास गरे । तत्कालीन अवस्थाको हाम्रो तटस्थतावादले त्यसमा केही काम गर्यो कि भन्ने लाग्छ ।
टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौतापछि ९ महिनासम्म सेयर कारोबार निलम्बनमा पर्यो । ६ महिना गरिसक्नुुपर्ने केन्द्रीय बैंकको नियम भए पनि त्यसमा समय थप्न पाउने सुविधाको तपाईहरुले प्रयोग गर्नुभएको देखिन्छ । ९ महिनासम्म लगानीकर्ताको लगानी बन्धक बनाइयो भन्ने असन्तुष्टिले पनि एसजिएम दोश्रो पटक गर्नुपर्ने अवस्था सिर्जनामा काम गरेको जस्तो लाग्दैन ?
-तपाईले भनेजस्तो यो असन्तुष्टिले पनि काम गरेको हो । थोरै या धेरै आगोमा घ्यू थप्ने काम यसले पनि गर्यो । यद्यपि, हाम्रो चाहना अनुसार यति लामो समयसम्म सेयर कारोबार हुन नसक्ने अवस्था भएको होइन । हाम्रो गलत मनाशय हुँदै होइन । राष्ट्रबैंकका कतिपय नियमनकारी प्रक्रियाहरु, मर्ज गर्नका लागि दुवै संस्थाबाट जारी गरिएको हकप्रद सेयर, जारी गर्ने प्रक्रिया, यी सबै कुराहरुले पनि मर्जरका लागि थोरै समय लाग्यो । यो बीचमा हकप्रद जारी गर्न खोज्दा राष्ट्रबैंकबाट अनुमति लिने प्रक्रिया, त्यसपछि बोर्ड र आधारभूत सेयरधनीले जम्मा गर्नुपर्ने अग्राधिकार सेयर र राइट सेयर, त्यो गरिसकेपछि राष्ट्रबैंक पठाउनुपर्ने, राष्ट्रबैकले १५ दिनको समय लिने । त्यसपछि फेरि ३५ दिने सूचना र यी विभिन्न कारण, यस्ता काम गर्दै जाँदा चाडपर्वको बेला, क्वार्टर इण्ड(त्रैमास अन्त)को बेला लगायतले मात्र यत्ति ढिलाई भएको हो । यसप्रति हामी निकै संवेदनशील छौ ।
हामीसँग ३–४ महिनामै मर्जर सम्पन्न भएका पनि प्रशस्तै उदाहरण छन् !
-दुवै संस्थाको डिडिए गर्नुपर्ने, हाम्रा ४७ वटा शाखा र त्यसको पोर्टफोलियो, उहाँहरुको ३२ वटा शाखा र त्यसको पनि पोर्टफोलियो हेरेर डिडिए गर्नुपर्ने अवस्था थियो । यी विभिन्न कारणले गर्दा पनि विलम्ब भयो । पुस ४ गते विशेष साधारणसभा आह्वान गरेका छौ, त्यसमा सफलतापूर्वक मर्जरको प्रस्ताव पारित गरेर तुरुन्तै संयुक्त मर्जर कमिटीले जुन कार्यतालिका बनाएको छ, सोही अनुसार संयुक्त कारोबार थाल्नुु नै हामी सबैका लागि हितकर छ । किनभने ९ महिनासम्म केका लागि सेयर कारोबार निलम्बनमा पर्यो त भन्दा यसको मुख्य कारण नै मर्जर हो । गर्भाधारण गरेर ९ महिनासम्म पेटमा बच्चा राखिसकेपछि १० महिनामा जन्मिने अवसर हो, त्यसले एउटा नयाँ क्षितिज र नयाँ संभावना देख्ने बेलामा फेरि त्यसको भ्रूण हत्या गर्ने भन्ने कुरा यदाकदा आयो, त्यसबाट मेगा बैंक प्रभावित भयो । त्यसलाई सच्याउनुुबाहेक र मर्जरलाई सफल बनाउनुु बाहेक अर्को विकल्प छैन । तपाईले भनेजस्तो मेगा बैंकले एउटा इतिहास रच्न खोज्दैछ । ०६७ साल साउन ७ गते कारोबार संचालन गर्दाखेरि मेगा बैंक तत्कालीन अवस्थामा नेपालको वाणिज्य बैंकमध्ये चुक्तापूँजीको दृष्टिकोणले सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित भएको थियो । अब यो मर्जरबाट एकपटक फेरि मेगा बैंक त्यही रुपमा अगाडि आउँदैछ । यसले तत्काल बढी पूँजीका कारणले गर्दा मुनाफामा केही संकुचन आउला, तर भविष्यका निमित्त असल संभावनाको ढोका खोलेको छ । लगानीको संभावना बढाएको छ । जसबाट मेगा बैंकले आफूमा ठूला परियोजनाको कन्सोर्टियम लिड गर्नसक्ने क्षमताको अभिवृद्धि गर्छ । ती उज्याला पक्ष हेरेर हामी अगाडि बढ्नुपर्ने हो । साथीहरुमा तातै खाऊ, जलि मरौं भन्ने प्रवृति देखियो । तत्काल लगानी गरेर तत्काल प्रोफिट कमाउन साग लाउन पर्यो, पोल्ट्री फर्म गर्नुपर्यो । सेयरबजारका कतिपय खेलाडीले बजारको ट्रेण्ड हेरेर आज किनेको सेयर १५–२० रुपैयाँ बढ्यो भने भोलिपल्ट बेचिहाल्छन् । त्यो ढंगको सोंचबाट बैंक तथा बित्तीय संस्था चल्दैन, यो संवदेनशील ठाउँ हो ।
तर, अधिकांश लगानीकर्ताहरुको गुनासो-मेगा बैंकले ९ महिनासम्म हाम्रो लगानी बन्धक बनायो भन्नेछ। यही ठाउँमा ३–४ महिनामा समेत मर्जर सकिएका उदाहरण पनि छन् । ९ महिनासम्म लगानी फ्रिज हुँदा मेगा बैंकबाट अन्यायमा परेको महसुस गर्नेहरुलाई के भन्नुुहुन्छ ?
-अदालतमा विशेष साधारणसभा स्थगितका लागि समेत मुद्धा पुुग्यो । संचालक समितिभित्रै रहेको असन्तुष्टि बाहिर छताछुल्ल भयो । यस्तो किसिमको घटना अन्य बैंकमा सायदै भएका छन् । म यो बैंकको अध्यक्ष हुँ । मैले अघि नै ९ महिना रोकिएको बिषयमा प्रष्ट पारेँ । तर, तपाईले भनेजस्तो ३–४ महिनामै मर्जर सम्पन्न हुने संस्थाहरु चाहि राइट सेयर जारी नगरेका संस्था हुन् । मर्जरको बिषयमा कुनै विवाद नभएका संस्थाहरु त्यसरी गएका छन् । राइट सेयर जारी गर्ने एउटा प्रक्रिया छ, अवधि छ, त्यो पूरा गरेपछि मात्र अगाडि बढ्न सकिने रहेछ । तुलनात्मक ढंगले अलिकति समय लाग्यो । अर्को कुरा, हाम्रो ०७२÷७३ को आर्थिक विवरणको लेखापरीक्षण प्रतिवेदन बोर्डले पास गरेर राष्ट्रबैंक पठाउने र राष्ट्रबैंकले समय लिएर अध्ययन गरेपछि बोर्डमा फिर्ता पठाइसकेपछि त्यसका आधारमा हामीले राइट सेयर आह्वान गर्नुपर्ने थियो, त्यो आउँदा समेत समय लाग्यो । अर्को कुरा, दुवै संस्थाको डिडिए गर्नलाई मात्र करिब ४ महिना लाग्यो । यस्तै कारणले यो अवस्था आएको हो ।
अब त्यो समय व्यथित भइसकेको छ । अब हामी फर्केर ‘किन यति धेरै समय लाग्यो होला’ भनेर घोत्लिदा निश्कर्ष आउन्न । व्यथित भएको समय त फर्काउन सक्दैनौ । बरु अवसरको सिर्जना गर्नसक्छौ । जतिसक्यो चाँडो विशेष साधारणसभा सकेर र जतिसक्दो छिटो संयुक्त कारोबार थाल्नेमा ध्यान केन्द्रीत हुनुपर्छ । यसले मात्र ९ महिनादेखिको निलम्बित अवस्थामा रहेको सेयरको कारोबार खुल्छ । साधारणसभालाई प्रभावित बनाएर, मर्जरको एजेण्डालाई प्रभावित बनाएर जाँदा त त्यसले लगानीकर्ताको अहित हुने भयो । मेगा बैंकको प्रतिष्ठामाथि पनि प्रश्न उठ्ने भयो । यसले जोखिम पनि सिर्जना गर्ने भयो । र, राष्ट्रबैंक पनि नियालेर बसिरहेको छ । मर्जरको अभियानमा संलग्न भएका हामी दुुईवटा बैंक मात्रै छैनौ नि, राष्ट्रबैंक पनि छ । राष्ट्रबैंकको बोर्ड समेत संलग्न भएको छ । हामीले दायाबायाँ गर्नसक्ने अवस्थनै हुन्न।
केही साथीभाईमा लागेको हुनसक्छ कि, हाम्रो स्वाप रेसियोमा सामान्य डिफरेन्स आयो डिडिएमा । यसमा दवाब सिर्जना गर्दा, एसजिएमलाई प्रभावित गर्दा डिडिएमा आएको स्वाप रेसियो प्रभावित गर्न सकिन्छ कि भन्ने अपेक्षा लिएका हुनसक्छन् उनीहरुले । हाम्रै बोर्डका संचालक मित्रको समेत त्यो अपेक्षा भएको हुनसक्छ । राष्ट्रबैंकले स्पष्ट रुपमा भनेको छ कि कुनै पनि बैंक तथा बित्तीय संस्थाहरुले मर्जर वा एक्वीजिसनको एमओयूू गर्दा नै जुन स्वाप रेसियो निर्धारण गरेका हुन्छन्, ठ्याक्कै त्यही अनुसारको डिडिए नआउन पनि सक्छ । कारण, विभिन्न प्यारामिटर्सको आधारमा स्वाप रेसियो निर्धारण भएको हुन्छ, कुनै पनि एउटा प्यारामिटरको अप एण्ड डाउनले डिडिएमा प्रभाव पारेको हुनसक्छ ।
स्वाप रेसियोमा केही फरकपना आउनसक्छ । यसबाट गाभ्ने र गाभिने प्रक्रियामा सामेल पार्टनर अर्गनाइजेसनहरु नभागून्, सीमित स्वार्थले काम नगरोस् भन्ने उद्देश्यले नै राष्ट्रबैंकले डिडिएले निर्धारण गरेको स्वाप रेसियोलाई आधार मानेर १० भारित अंक माथि र १० अंक तल गएर पनि एमओयूू अनुसार मर्जर प्रक्रियामा सामेल हुनसकिने व्यवस्था गरेको छ । त्यसकारण सेयर स्वाप रेसियोमा धेरै चिन्ता लिनुपर्ने आवश्यकता देख्दिँन म ।
वास्तवमा मेगा बैंकलाई यो मर्जरले किञ्चित घाटा भएको छैन । हामीले जति स्वाप रेसियो निर्धारण गरेका छौ, जे जति टुरिजमको क्यापिटल, मेगा बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद, फेरि जारी गरेको ६५ प्रतिशत हकप्रद नै र हामीले प्राप्त गरेको ०७२/७३ को १३.२५ प्रतिशत मुनाफा लगायत सबैलाई हेर्दा १०० :९५ स्वाप रेसियोबाट आएको ५ प्रतिशत पोजिटिभ भेरिएन्स हो मेगा बैंकका लागि । हेर्दाखेरि पनि हाम्रो नेटवर्थ प्रति सेर २२८ र टिडिबिएलको २१७ कायम भएको छ । यसले पनि ११ अंक हामी माथि नै छौ । यसले मेगा बैंकका प्रोमोटरहरुलाई फाइदा नै भएको छ । अर्को फाइदा-०७३/७४ को लाभांश नगदको रुपमा दियौं, नगद लाभांश दिनसक्ने अवस्थामा पुुगेका छौ । २८ वटामध्ये धेरैमा ५ वटा बैंक मात्र यो अवस्थामा पुुगेका छन् । हाम्रो दुुईवटा संस्थाको मर्ज गर्दा ०७३/७४ को मुनाफा छोडेर ९ अर्ब ४७ करोड क्यापिटल हाम्रो पुुग्छ ।
यो मर्जरले जुन हामीले लाभांश पाउँछौ, हाम्रो चाहि ७९.४ करोड ०७३/७४ को मुनाफा रहेको छ । टुरिजमको ३२ करोडको रहेको छ । सेयरको अक्सनबाट टुरिजमले अर्को ७ करोड रिजर्बमा राखेको रहेछ । एक किसिमले भन्दा मेगा बैंक ०७३/७४ मै बिलेनियर बैंकहरुको क्लबमा प्रोफिटको दृष्टिकोणले प्रवेश गर्ने अवस्था । हामीले एउटा साउण्ड फाइनान्सियल हेल्थ भएको, सस्टेनेबल ग्रोथ भएको, सस्टेनेबल प्रोफिट भएको, भरपर्दो पूर्वाधार र आधारशीला खडा गरेको राष्ट्रिय स्तरको विकास बैंकलाई गाभ्दैछौ, यो सामान्य बिषय होइन । यो बिषयमा साथीभाईलाई हिजोको दिनमा बुुझाउन सकिएको थिएन होला । हामीले त्यही ढंगको सोसल मिडियाको प्रयोग गरेनौ, गर्न पनि हुँदैन थियो । हामी एउटा इथिक्स र नम्र्सका आधारमा, राष्ट्रबैंकको रेगुलेसन र गाइडेन्सका आधारमा अगाडि बढ्ने गर्छौ । तर, दुुर्भागय यो स्क्याण्डल सोसल मिडियामा गयो । यसले नराम्रो म्यासेज पनि दियो । अब त्यसलाई सपारेर जानुु बाहेक हामीसँग अर्को विकल्प छैन ।
असन्तुष्टिहरुको व्यवस्थापन वा सम्बोधन चाहि कसरी गर्नुहुन्छ ?
-एक, मर्ज पछाडिको मेगा बैंकको संभावना हेर्नुपर्छ । नाम मर्ज भए पनि व्यवहारमा यो एक्वीजिसन हो । टुरिजम बैंकको आफ्नो नाम र प्रतिष्ठा छ । उसको आफ्नै संरचना छ र कर्मचारी छन्, ती सारा मेगा बैंकमा आएर मर्ज हुने हो । मेगा बैंक नाम हुने हो । मेगा बैंकको बोर्ड हुने हो, मेगा बैंकको म्यानेजमेन्ट टिम हुने हो ।
दोश्रो, अहिले हामीसँग ४७ वटा शाखा छन् । ४७ वटा शाखा सञ्जाल बिस्तारका लागि हामीलाई ८ वर्ष लाग्यो । पछिल्लो ९ वटा शाखा थप्नलाई मात्र हामीलाई ४ वर्ष लाग्यो । ३२ वटा शाखा र एउटा एक्सटेन्सन काउण्टर टुरिजमसँग छ । हामीले ३२ वटा शाखा ४ वर्षमा पनि बिस्तार गरिसक्दैनौ । राष्ट्रबैंकले एकैपटक १५–२० वटा शाखा त दिंदैन । यो अवसर हामीले पाउँदैछौ ।
तेश्रो, यो मर्जबाट हामीले ३३ वटा शाखा मात्र पाइरहेका छैनौ, ९ वटा शाखा काठमाण्डौ उपत्यकामै पाउँदैछौ । मर्ज नभएको भए तत्काल हामीले ९ वटा शाखा काठमाण्डौमा खोल्नसक्ने संभावना नै थिएन । मर्जरकै कारण मात्रै काठमाण्डौमा हाम्रा ९ वटा शाखा सञ्जाल थपिँदैछ । यी ९ वटा शाखाले नै सबैभन्दा बढी विजिनेश गर्छ । त्यो शाखा हामीले पाउँदैछौ ।
चौथो, बिजशालामार्फत म साथीहरुलाई जानकारी गराउन चाहन्छुु कि यो ३२ वटा शाखा खोल्न अहिलेको कस्ट हिसाब गर्ने हो भने कम्तीमा पनि ३० करोड लाग्छ । यहाँ काम गर्ने कर्मचारीका लागि प्रतिवर्ष अर्को ३० करोड लाग्छ । मैले हिसाब नै गरेर यो कुरा गरिरहेको छुु । हाम्रो प्रतिशाखा ७५ लाख खर्च हुँदो रहेछ । एउटा शाखामा औसतमा ६ कर्मचारी, २ वटा गार्ड, एउटा म्यासेञ्जर, एउटा हेल्पर र एउटा ड्राइभर राख्दा पनि ३२ शाखाको वार्षिक खर्च झण्डै ३० करोड आउँछ । एउटा शाखा ब्रेक इभनमा जानका लागि कम्तीमा पनि २ वर्ष लाग्छ । यसरी हेर्दा यो मर्जरबाट न्यूनतम पनि १ अर्ब हाम्रो बचत हुन्छ । यदि हामी कुनै कारणले मर्जरमा नगएको हुन्थ्यौ भने पनि बढेको पूँजी अनुसारको व्यवसाय गर्न त्यसलाई सर्भ गर्ने संरचना चाहियो, त्यो संरचना भनेको शाखा चाहियो, जनशक्ति चाहियो, मार्केटिङ चाहियो, ब्राण्डिङ गर्नुपर्यो । यसले गर्दा थप १ अर्ब रुपैयाँ खर्च गर्नुपथ्र्यो । टुरिजम आउनेबित्तिकै त्यो १ अर्ब त बचत भयो नि । सञ्चिती गर्नु पनि त मुनाफा आर्जन गर्नु हो । यो कुरालाई वास्तवमा साथीहरुले बुझिदिनुपर्छ । यस्तो ढंगले साथीहरुलाई सूचित गर्ने काम विगतमा हुन सकेन, त्यो कमजोरी भयो । सोसल मिडियामा यी कुराहरु आएनन् । साथीहरुलाई सेन्सेटाइज गर्ने कुरा मात्र आए । मान्छेको इन्टीग्रीटी, अनेस्टी र ट्रुुथ माथि पनि आक्षेप लगाउने र प्रहार गर्ने काम भयो ।
अर्को पक्ष, त्यही कर्मचारीलाई दक्ष बनाउनुपर्छ व्यवस्थापन खर्च छुट्टै छ । त्यो समेत पनि हाम्रो बचत हुन्छ, यसलाई ज्यामीतीय प्रगति भन्छ् । मेगा बैंकको ०७३ ७४ को मुनाफा अन्तरगत क्यास बाँड्दा ९ अर्ब ४७ करोड, सेयर बोनस बाँड्दा साढे १० अर्ब पुुग्छ । यसले लगानीको सीमा वृद्धि गर्छ । अहिलेसम्म पनि मेगा बैंक ठूला परियोजनाको कन्सोरटियम लिड हुन सकेको छैन । हामीले लगानी गरेका परियोजना ७५–८० करोडको होला । अब यसले हामीलाई कन्सोरटियम लिड गर्ने क्षमतामा पुर्याउँछ ।
यस्तै, टुरिजम डेभलपमेन्ट बैंकको टुरिजम सेक्टरमा मोनोपोली मार्केट छ, मर्जरपछि त्यो मार्केट हामीले प्राप्त गर्छौ । हिजो त्यो मार्केटमा रहेका विजिनेशम्यान, लगानीकर्ता र उद्यमीहरुले जे सुविधा विकास बैंकबाट प्राप्त गर्न सकेका थिएनन्, त्यो भन्दा बढी सुविधा उनीहरुले कमर्सियल बैंकबाट प्राप्त गर्छन । जस्तै, एलसीका कुराहरु, कर्जामा ब्याजदर सहुलियतका कुराहरु । ती कुराहरुलाई हेरेर, संभावना र उज्वल भविष्यलाई हेरेर मर्जर प्रक्रियामा सामेल हुनुपर्छ भन्ने मेरो अनुरोध छ ।
म सामाजिक रुपान्तरण अभियान अन्तरगतको टान्सफर्मिङ लाइफ कोचिङ फिल्डमा पनि आबद्ध छुु । एउटा भनाई छ नि शब्दले हिंसा उत्पन्न गराउँछ । हतियारले नै पहिलो हिंसा उत्पन्न गराउने होइन । शब्दले मान्छेलाई उत्तेजित गराउँछ, त्यो उत्तेजनाले मान्छे विद्रोहमा आउँछ । शब्दको प्रयोग गर्दा हामी संवेदनशील हुनुपर्छ, त्यो शब्द फूल भन्दा पनि नरम हुन्छ । त्यसले आनन्द पनि दिन्छ । त्यो शब्द तरबार भन्दा पनि धारिलो हुन्छ । त्यो किसिमको अवस्था पनि सिर्जना भयो, जुन अत्यन्त संवदेनशील कुरा हो । यो अवस्थाले मेगा बैंकको इमेज के होला ? भनेर सोच्नुुपर्छ । हामी अत्यन्त संवेदनशील छौ । हाम्रो इन्टीग्रेटी र अनेस्टीमाथि शंका नगर्न लगानीकर्ता मित्र(जो सेयर बन्द भएका कारणले गर्दा दुखित हुनुुभएको छ) म उहाँहरुलाई अनुरोध गर्न चाहन्छुु ।
विशेष साधारणसभा ४ गते हुन्छ । बिनाअवरोध यी सबै प्रक्रिया अगाडि बढे भने कहिलेदेखि संयुक्त कारोबार होला र सेयर कारोबार खुल्ला ?
-हाम्रो योजना मंसिर ४ गते विशेष साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पास गर्ने र माघ ७ गतेदेखि संयुक्त कारोबार गर्ने तालिका थियो । एकमहिना पछाडि सर्दा थोरै तालिका प्रभावित भएको छ । मलाई लाग्छ, फागुुनको पहिलो सातासम्म जाला । त्यो भन्दा टाढा जाँदैन । एसजिएम सम्पन्न भएको २ महिनाभित्र संयुक्त कारोबार गर्ने गरी कार्यतालिका बनाएका छौ । हामी युद्धस्तरमा र कुनै कसर बाँकी नराखी दिनरात एक गराएर जतिसक्दो छिटो सयुक्त कारोबारको प्रक्रियामा जान्छौ ।
बैंक समस्या र संक्रमणकालमा रहेकै बेला फूल सीइओविहीन छ । यस्तो अवस्थामा झनै अप्ठ्यारो पर्दैन ? अब फूल सीइओ आन्तरिक रुपमै ग्रुम गरेर ल्याउनुुहुन्छ कि बाहिरबाट अरु कसैलाई ल्याउनुुहुन्छ ?
-यही अवस्थामा सीइओबिहीन भएको हुनाले ‘मेगा बैंक नेतृत्वविहीन पो छ कि’ भन्ने हिसाबले शंका नगर्न पनि अनुरोध गर्न चाहन्छुु । किनभने राष्ट्रबैंकको निर्देशिका, बाफिया, नियमावली यी सबै कुराको जवाफदेहिता बोर्डमा रहन्छ । अपरेसनको दायीत्वको जिम्मेवारी बोर्डमा नरहे पनि त्यसको ओभरअलमा मेगा बैंकको संचालक समितिले यो संक्रमणकाललाई नजिकबाट हेरेको छ । काम गर्ने तालिकामा कुनै किसिमको विलम्ब हुँदैन ।
अर्को कुरा, हामीसँग बैंकको स्थापनाकालदेखि नै कार्यरत अनुुभवी र दक्ष टिम छ । त्यो टिमको एकजना सदस्य मात्रै, राष्ट्रबैंकको प्रावधान अनुसार कार्यकाल पूरा गरेर विदा हुनुुभएको छ । र, बाँकी रहेको टिम हामीसँग छ । अहिले हामीले अर्को व्यवस्था नभएसम्मलाई हाम्रै डिसीइओलाई एक्टिङ सीइओको कार्यभार सुम्पिएका छौ । अहिले यो भन्दा बेटर निर्णय गर्नसक्ने अवस्था थिएन । हाम्रा लागि पहिलो प्राथमिकताको कुरा अहिले तत्कालका लागि पुस ४ गतेको एसजिएम सम्पन्न गर्नु हो । टिडिबिएलबाट पनि सिनियर म्यानेजमेन्ट टिम पनि यहाँ मर्ज हुने हुनाले र त्यो समेत पनि हामीले मध्यनजर गरेका छौ ।
फूल सीइओ मर्जरपछि ?
-मर्जरपछि नै पाउँछौ ।
आन्तरिक रुपमा ग्रुम गर्नुहुन्छ कि ?
-हामी यही भित्रबाट पनि ग्रुुम गर्ने पनि हाम्रो योजना छ । सक्सेसर लिडरसीपको पनि ग्रुम गर्ने भन्ने रणनीति छ । मेगा बैंकले हाम्रो टिममा समेत रुपान्तरण गर्न खोजिरहेको छ । अरु बैंकमा अफर लेटर पाइसकेपछि यहाँ राजीनामा दिने, कुनै पनि बैंक छाड्नका लागि राजीनामा दिएका कर्मचारीमा कुनै अनुरोध नै नगर्ने, तर हामीले चाहि सेन्टीमेन्टल रिलेसनसीपमा पनि आबद्ध भएकोले पनि । त्यसो भएको हुनाले त्यो किसिमको वातावरण समेत यहाँ सिर्जना गर्न खोजिरहेका छौ । त्यसले गर्दा हुनसक्छ, यहीबाट पनि ब्रेक थ्रूु दिने लिडरसीपको पनि उत्पादन हुनसक्छ । अवसर नै नदिने भन्ने हुँदैन । यो पनि एक किसिमको अवसर हो । अर्को व्यवस्था नभएसम्मका लागि जुन जिम्मेवारी दिएका छौ अर्को व्यवस्था नभएसम्मको समयमा जिम्मेवारी पाएको व्यक्तिले ब्रेक थ्रुु दिनुुभयो, तपाईले गरेको अपेक्षा अनुसारकै प्रदर्शन देखाउनुुभयो भने त बाहिरबाट ल्याउनुपर्ने जरुरत किन पर्यो र ?
हामी कसैप्रति पनि आग्रह पूर्वाग्रह राख्दैनौ । हामी अवसर सिर्जना गर्छौ, त्यो अवसरलाई ट्याग गरेर त्यसलाई वास्तविकतामा बदल्ने सम्बन्धित व्यक्तिको क्षमतामा भर पर्ने कुरा हो ।
यसअघि वार्षिकोत्सव मनाउने क्रममा तपाईहरुले प्रदेश स्तरका हेडक्वार्टरहरु बनाउने घोषणा गर्नुभएको थियो । त्यो क्रम कहाँ पुुग्यो ? तपाईहरुको सेवाको विकेन्द्रीकरण गर्ने अन्य योजना के के छन् ?
-तपाईले मलाई स्मरण गराउनुुभयो, यसका लागि धन्यवाद दिन चाहन्छुु । अहिलेको अवस्थामा प्रदेश नम्बर ५ को राजधानी रहने भन्ने चर्चा रहेको बुटवलमा प्रदेश हेडक्वार्टर स्थापना गर्ने गरी काम अगाडि बढेको छ । त्यहाँ भएको मेगा बैंकको जग्गामा भवन निर्माणका लागि नक्सा डिजाइन लगायतको कामको अन्तिम चरणमा पुुगेका छौ । त्यो हाम्रो आफ्नै जग्गा हो । यो काम संयुक्त कारोबार पछाडि अगाडि बढ्छ । अहिले नै रिजनल हेडक्वार्टर र म्यानेजरको सेटअप गरिसकेका छौ । राजधानीमा रहेको हेड अफिसले प्रदेशनम्बर ३ र ओभरअल नेपाललाई समन्वय गर्छ । अब हामीले स्थापना गर्न बाँकी रहेको ५ वटा प्रदेशमा हुन्छ । हामीले ५ वर्षे रणनीतिक योजनाभित्र पाँचौ वर्षमा पुुग्दा सबै प्रदेशमा रिजनल हेडक्वार्टर स्थापना गर्ने हाम्रो लक्ष्य छ । त्यसअनुसारको म्यानपावर र आवश्यक संरचना पनि विकास गर्दै जाने भन्ने योजना छ ।
अर्को, तत् प्रदेशमा मुभिलाइज भएको डिपोजिट, त्यही प्रदेशमा भएको विजिनेश र त्यसबाट प्राप्त भएको मुनाफाबाट प्राप्त भएको सिएसआर तत् क्षेत्रमै प्रवाह गर्ने योजना रहेको छ । त्यहाँबाट मुनाफाको अंशलाई त्यहीँ हामीले प्रवाह गर्यौै र लगानी गर्यौ भने त्यो क्षेत्रका जनतामा आशा र भरोसा जगाउन सकिन्छ ।
मेगा बैंकले ०७४/७५ लाई आधार मानेर ५ वर्षे रणनीतिक योजना बनाउने काम सम्पन्न गरेको छ । बैंकको बोर्डदेखि सीइओदेखि ब्राञ्च अफिससम्मका सारा कर्मचारी संलग्न भएर यस्तो रणनीति बनाएका छौ । त्यसको फाइनल टच दिनका लागि मुुलुकका मूूर्धन्य योजनाविदहरु, अर्थविदहरु, बैंकरहरुलाई समेत आमन्त्रण गरेर इनहाउस सेमिनार नै गर्यौ । यति गहिराईमा गएर एकेडेमिकल्ली कमै बैंकहरुले मात्र रणनीतिक योजना बनाउँछन् होला । त्यसमा हामी सबै संलग्न भएको हिसाबले सबै कुरा निश्चित भइसकेको छ । डिपोजिट कति पुर्याउने भन्ने पनि फिक्स छ, कर्जा कति गर्ने भन्ने पनि फिक्स छ । प्रोफिट कति प्रतिशत पुर्याउने भन्ने टार्गेट पनि फिक्स्ड छ । कुन क्षेत्रमा बढी लगानी प्रवाह गर्ने, फोकस गर्ने भन्ने पनि फिक्स्ड छ ।
हामी जहाँ–जहाँ शाखा खोल्छौ, त्यहीँको जनशक्तिलाई प्राथमिकता दिन्छौ । त्यहाँ पाइएन भने छिमेकी जिललालाई प्राथमिकता दिन्छौ । राजधानीको हकमा फ्रस्ट डिभिजनलाई हामी प्राथमिकता दिन्छौ, केन्द्रबाट बाहिर चाहि हामी सेकेण्ड डिभीजन भनेर छुट्याएका छौ । यसको अर्थ क्वालिटी मेनपावरको नियुक्ति हाम्रो प्राथमिकता हो । हाम्रो होइन, राम्रो भन्ने नारा लिएर अगाडि गएका छौ ।
हाम्रो लगानी उत्पादनमूलक र रोजगारमूल्क व्यवसाय र उद्योगमा हाम्रो फोकस हुन्छ । ट्रेडिङ विजिनेश भनेको नर्मल प्रक्रिया भयो । हाम्रो फोकस र लगानीको प्राथमिकीकरण त्यहाँ हुन्छ ।
मेगा बैंकलाई निजी क्षेत्रको टप वाणिज्य बैंकको रुपमा रणनीतिक योजनाको अन्तिम वर्ष वा अहिलेको ५ वर्षपछि हेर्न पाइन्छ ?
-हाम्रो ५ वर्ष समाप्ति हुँदा मेगा बैंकलाई १५ औं स्थानमा पुर्याउने हाम्रो लक्ष्य हो । विगतमा अलिकति ग्रोथको दृष्टिकोण एभरेजमा गयौं । प्रोफिटको हिसाबले राम्रै हो । प्रोफिट ग्राजुुएल्ली बढेको छ । यसपटकको हाम्रो प्रोफिट लक्ष्य ११४ करोड रहेको छ । गत वर्ष लिक्वीडिटीमा जुन किसिमको क्रञ्च आयो त्यसले नयाँ व्यवसाय फस्टाउन सकेन । त्यसको प्रभाव मात्रै पहिलो क्वार्टरमा देखिएको हो, दोश्रो क्वार्टरमा यस्तो अवस्था हुँदैन । फ्रस्ट क्वार्टरमा ८ करोड भयो भने सिधा किसिमले हाम्रा प्रोमोटर साथीले भन्छन् अब ३२ मात्र पो हुने भो । सेकेण्ड क्वार्टरमा ८ को साटो ४० करोड पनि हुनसक्छ । हामी पाँच वर्षमा टप १५ भित्र आइपुुग्छौ । लगानीको क्षमता अभिवृद्धि गर्दैछौ, यसले ब्रेक थ्रुु पनि हुनसक्छ । त्यो भन्दा पछाडि चाहि जाँदैनौ । भनिन्छ नि ‘स्लो एण्ड स्टीडी विन द रेस’। सस्टेनेबल ग्रोथ र सस्टेनेवल प्रोफिटको कन्सेप्टबाट मेगा बैंक अगाडि बढिरहेको छ । हामीमाथि सबैले जुन विश्वास गर्नुभएको छ, त्यसमा हामी पनि पानी फेर्दैनौ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago