काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति तथा वरिष्ठ अटो व्यवसायी अञ्जन श्रेष्ठले कोरोना महामारी नियन्त्रणका नाममा दुईपटक भएको लकडाउनको असान्दर्भिक र असफल प्रयासको विषयमा पुनः नसोच्न सरकारलाई आग्रह गरेका छन् । 

उनले लकडाउनको नामै नलिन आग्रह गर्दै भने–‘लकडाउन र बन्द समस्या समाधानको विकल्प होइन रहेछ भन्ने कुरा पुष्टि भइसकेको छ । सरकारकै मान्छेहरुले फेरि पनि लकडाउन वा बन्दको हल्ला फैलाउनु गलत छ । यो बेला त्रास फैलाउने होइन, नागरिकहरुमा सकेसम्म सचेतना जगाउनुपर्छ।’

उनले छिमेकी देशहरुबाट समेत कोरोना नियन्त्रणसँगै आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने उदाहरणीय प्रयोगहरु सिक्न सरकारलाई सुझाए । ‘काठमाण्डौजस्तै बढी जनघनत्व भएको भारतको राजधानी दिल्लीमा कसरी सबै आर्थिक गतिविधि सुचारु गरेर पनि कोरोना नियन्त्रणका लागि काम भइरहेको छ भन्ने कुरातर्फ सरकारले ध्यान दिनुपर्छ ।’ उनले थपे–‘एक मात्र विकल्प लकडाउन हो भन्ने गलत बुझाई त्याग्नुपर्छ ।’ 

उनले कोभिड–१९ विरुद्धको खोप तत्काल नआउने प्रष्ट भइसकेको उल्लेख गर्दै लामो समयसम्म कोभिडसँगै बाँच्नुपर्ने बाध्यता रहेकोले नागरिकहरुलाई सचेततासँगै यसमा अभ्यस्त बनाउनुपर्नेमा जोड दिए । ‘निश्चित प्रोटोकल बनाएर त्यसमा सबैलाई अभ्यस्त बनाउने गरी अगाडि बढ्नुपर्छ ।’ उनले थपे–‘निजी क्षेत्रले समेत आफ्ना उद्योग व्यवसायमा प्रोटोकल बनाउनुपर्छ, यो कामको सुरुवात भइसकेको छ।’ 

उनले अनावश्यक रुपमा लकडाउनको असान्दर्भिक विषयमा अल्झिनुको साटो राज्यले यही समयमा पर्याप्त स्वास्थ्य पूर्वाधारहरुको विकास गर्नुपर्ने, यथेष्ट आइसोलेसन र क्वारेन्टिन सेन्टरको विकास गर्नुपर्ने, प्राइभेट र सरकारी अस्पतालको क्षमतामा वृद्धि गरिनुपर्नेमा जोड दिए । 

देशका तीनै तहका सरकारहरु नीतिगत रुपमा प्रष्ट हुनुपर्नेमा जोड दिंदै उनले भने–‘केही समयअघि काठमाण्डौ महानगरका मेयर ज्यूले महानगर क्षेत्रमा ५ हजार क्षमताको आइसोलेसन सेन्टर बनाउने भन्नुभएको थियो । यो काम अझै किन हुन सकेन ? त्यो कुरा मेयर साबको व्यक्तिगत कुरा थियो कि संस्थागत ?’ 

उनले काठमाण्डौ महानगरको यो उदाहरण पेश गर्दै कतिपय कुरामा सरकारहरु प्रष्ट नभएका, सरकार प्रमुखहरुले एउटा कुरा बोल्ने, तर कार्यान्वयन नगर्ने परिपाटीको विकास भएको र यस्तो अवस्था रहे कोभिड नियन्त्रण अझै चुनौतिपूर्ण बन्नेतर्फ सचेत गराए । 

नेपालमा लक्षणविहीन संक्रमितको संख्या ठूलो रण्हेको र निको हुने दर धेरै र मृत्युको दर निकै कम रहेको उल्लेख गर्दै अत्तालिनुपर्ने अवस्था नरहेको र खोप नआएसम्म संक्रमणको नियन्त्रण र व्यवस्थापनका लागि प्रभावकारी काम गर्नुको विकल्प नभएको बताए । ‘तर, यसको विकल्प भनेको लकडाउन वा बन्द हुँदै होइन ।’ पुनः जोड दिंदै उनले थपे–‘बन्द गरेर समस्याको समाधान नहुने रहेछ भन्ने पुष्टि भइसकेको छ । फेरि पनि त्यही गल्ती हुँदैन भन्ने विश्वास छ ।’ 

सरकारलाई देश चलाउन राजश्व चाहिने, व्यवसायी टिक्न पनि पैसा चाहिने भएकोले पुनः लकडाउन गरेर सरकारले आफ्नो खुट्टामा आफैं बञ्चरो हान्छ भन्नेमा आफूलाई रत्तिभर विश्वास नभएको उनको भनाई छ । 

अबको बेला सरकार र निजी क्षेत्र मिलेर व्यवसायमैत्री वातावरण बनाउनुपर्ने र थला परेको अर्थतन्त्रमा प्राण भर्न सबै पक्षले आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्नुपर्ने उनको सुझाव छ ।