काठमाण्डौ । नेपाल चेम्बर अफकर्मसका प्रतिनिधी मण्डलसँगको भेटमा अर्थ सचिव शिशिर कुमार ढुङ्गानाले कर संकलनको लागत बढेको बताउँदै व्यवसाय गर्ने लागत घटाउन अध्ययन भइरहेको र एकद्वारबाट कर संकलन गर्ने सोच सरकारको रहेको बताए । 
 
कर अडिट धेरै नभई निकाय धेरै भई आ–आफ्नो क्षेत्राधिकार हेर्न सबै सचेत रहेको बताउँदै हाल मुलुकको विदेशी मुद्रा सञ्चिति सन्तोषजनक रहेको पनि बताए । सम्पति शुद्धिकरणबाट व्यवसायी आतंकित हुनु नपर्ने बताउँदै बिमालगायत अन्य सेवालाई अनलाईनमा जान प्रोत्साहित गरिरहेको अर्थ सचिव ढुुङ्गानाले बताए । 
 
नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले हालै अर्थ सचिवको कार्यभार सम्हालेका ढुङ्गानासँग भेट गरी वधाई ज्ञापन तथा उनको कार्यकालको पूर्ण सफलताको कामना गरेको थियो । 
 
यस आर्थिक वर्षमा बजेटको आकार घटाईएकोले सबै क्षेत्रमा असर परी बढी अपेक्षित बृद्धिदर हासिल हुने अपेक्षा रहेको, बैँङ्किङ समस्या समाधानगर्न कमिटी गठन गरिएकोले ब्यवसायीक ब्याजदर घट्ने आशा राखिएको चेम्बर अध्यक्ष श्रेष्ठले बताए ।
 
मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट राष्ट्र बैँकले लागू गरेको संकुचित प्रावधानहरु केही खुकुलो हुने आपेक्षा राखिएको र भारतीय बजेटबाट करको दर उल्लेखनिय रुपमा घटाईएको र कृषिमा अत्याधिक अनुदान दिइएबाट हाम्रा कृषि बस्तुहरु प्रतिस्पर्धी हुन ठोस् कार्य योजना ल्याईनु पर्ने बताउँदै यस क्षेत्रमा आउने लगानी भारततर्फ जाने सम्भावना बढेको भन्दै सचेत हुनुपर्नेमा जोड दिए । 
 
व्यवसायको लागत बढेको, करचुक्ता अनलाईन हुनुपर्ने, अडिट धेरै संख्यामा भएको, सम्पत्ति शुद्धिकरणको चिठीले व्यवसाय जगतमा आतंक सिर्जना भएका लगायतका गुनासा समेत उनले गरेका थिए । 
 
उद्यमी ब्यवसायीले कर सम्बन्धी कानून उल्लंघन गरेको पाईएमा उनीहरुलाई फौजदारी अभियोग नलगाई आर्थिक जरिवाना मात्र लगाउनु पर्ने चेम्बरका अध्यक्ष श्रेष्ठले बताए ।