काठमाण्डौ । नेपाली सेयर बजार र आम लगानीकर्ताहरुको साइनो गज्जबको छ । गज्जब यस अर्थमा कि सेयर बजारमा नेप्से इण्डेक्स उकालो लागेर ऐतिहासिकतातर्फ लम्किरहेका बेला सेयर बजारमा बिछट्टै आकर्षण जाहेर गर्दै बजार प्रवेश गर्नेको तछाडमछाड नै देखिन्छ । यस्तै भीडलाई समाउँदै सेयर बजारको साँढे समाउन सकिने उच्च अभिलाषाका साथमा प्रवेश गर्न विभिन्न प्रोफेसनको पैसा कमाउने लिगलिगे दौडमा समावेश हुने परिपाटी नौलो होइन । 

यस्तै भीड र लहैलहैमा सेयर बजारमा दोस्रो बजारमा पाइला राख्ने एक लगानीकर्ता हुन् खगेन्द्र कटुवाल । 

कटुवाल २०६४ सालमा स्नातकोत्तर तहमा अर्थशास्त्र विषयमा गोल्ड मेडल प्राप्त उपप्राध्यापक हुन् । 

हाल उनी त्रि.वि. केन्द्रीय विभागमा प्राध्यापनरत छन् भने सोधशाला नामक रिसर्च सेन्टरका निर्देशक समेत हुन् ।

लोकसेवा अध्ययनरत विद्यार्थीहरुमाझ कटुवाल निकै कोचिङ्ग शिक्षकका रुपमा सुपरिचित छन् । उनको बौद्धिकतासँगै उनमा भएको सेयर बजारमा प्रवेशदेखि हाल मुलुकको समसामयिक आर्थिक सम्बन्धमा   बिजशालाको तर्फबाट भक्तराज रसाइलीले गरेको कुराकानीको अंशः

सेयर बजारमा कसरी प्रवेश गर्नुभयो ? सुरुमा कुन कम्पनीको सेयरबाट बजार छिर्नुभयो ?
-म बजारमा नजानीकनै प्रवेश गरेको थिएँ । सेयर बजारमा मलाई पनि कुनै बेला छिर्न मन लागेको थियो । अनि नेप्से बढेको बखतमा आएको तरंगलाई मैले पनि समाउने कोशिश गरेँ । मैले आजसम्म प्राथमिक बजारमा लगानी गरेकै छैन । मैले बजार प्रवेश नै दोस्रो बजारबाट गरेको हुँ ।

मैले त्यतिबेला बजारबाट नबील बैंकको ५ सय कित्ता २५ सयमा खरिद गरेर छिरेको हुँ ।

सेयर बजारको के कुराले तपाईलाई आकर्षित गर्यो ? बजारको भविष्य कस्तो देख्नुहुन्छ ?
-आर्थिक समृद्धि बढ्दा पूँजी बजारमा नै पहिलो बढोत्तरी आउने प्रक्षेपण रहने मान्यतालाई अँगाल्दै मैले प्रवेश गरेको हुँ । अहिले पनि अर्थतन्त्र सबल बने पहिला पूँजीबजार नै बढ्ने म ठोकुवाका साथ भन्न सक्छु ।

उपप्राध्यापक र सेयर लगानीकर्ताको रुपमा आफूलाई कसरी फरक पाउनुहुन्छ ? कसरी तादम्यता मिलाउनुहुन्छ ?

-अध्यापन गर्दा सिद्धान्तमा केन्द्रित रहने गरिन्छ । तर हाम्रो बजार खासै ठूलो छैन । यसकारण बजार उच्च स्पेकुलेसनमा चलेको अनुभूत गर्दछु ।

तपाईंको विचारमा लगानीकर्ताले कस्तो रणनीति अंगाल्नु पर्ला र तपाईं रणनीतिक चाहि कस्तो हुन्छ ?
-दीर्घकालीन लगानी रणनीति अन्तर्गत होल्डिङ्गलाई प्राथमिकता दिइनुपर्छ । मैले चाहिँ मेरो आम्दानीको केही हिस्सा भोलिको सुन्दर भविष्यका निम्ति बालबच्चा पढाउन र छोराछोरीका लागि बचतको अभ्यासका रुपमा सेयर बजारमा लगानी गरेको छु । यसबाट भोलिका दिनमा छोराछोरीलाई अंशका रुपमा सदुपयोग हुन सकोस् भन्ने उद्देश्यले आफ्नो रणनीति बनाउँदै लगेको छु ।

नेपालको समसामयिक अर्थतन्त्र र सेयर बजारलाई कसरी नियालिरहनु भएको छ ?

-नेपाली सेयर बजारको सीमित दायरामा सीमित हस्तीहरुले मस्ती गरिरहेका र बजार उनीहरुकै हातमा रहेको मैले देखेको छु । बजारमा पारदर्शिता, सूचना र सट्टेबाजीकै बोलवाला कायमै छ । चाँडोभन्दा चाँडो लगानीको प्रतिफल खोज्ने नेपाली लगानीकर्ताहरुको प्रवृत्ति यथावत नै रहनु अत्यन्त दूर्भाग्य हो । 

बजार घटबढको प्रवृत्तिलाई सहजै स्वीकार्न नसक्ने मानसिकताले लगानीकर्ताहरुलाई हतोत्साही बनाउने काम समेत गरेको छ । नेप्सेले १८ सयको ऐतिहासिक विन्दू चूँम्दा रियल सेक्टरको बलियो उपस्थिति भएको भए त्यसलाई टेवा मिल्ने थियो । 

बिडम्बना नै भन्नुपर्छ कि मार्केटमा रियल सेक्टरको अभाव सधैं खट्किरहेको देखिन्छ । 

अर्कातिर बोनस र हकप्रदमा दौडिने मानसिकताको उपज र विश्लेषण नै नगरी गरिने लगानीतर्फ लगानीकर्ताको ध्यान नपुगेकै कारण बजारले लय नसमातेको पक्कै हो । 

लगानीकर्ता आफू सस्टेन हुन सक्नुपर्छ । नियामक धितोपत्र बोर्ड समेत पूँजी बजारलाई खत्तम पार्न कस्सिएको देखिन्छ । बोर्डसँगको मिलेमतोमा गोप्य सूचना इलाइट ग्रुपको अधीनमा रहनु पनि सेयर बजारको वृद्धि र विकासको बाधक हो । अनि कसरी हामी भन्न सक्छौं कि अर्थतन्त्रको मेरुदण्ड सेयर बजार हो भनेर ?

नेपाली सेयर बजारका चुनौति र अवसर चाहि के हुन् ?
-बिजशालाजस्तो आर्थिक अनलाइन मिडियाले सचेतना बढाएका र आम मानिसमा सेयर बजारप्रति विश्वास जगाएको धू्रवसत्य हो । यसमा नियामक धितोपत्र बोर्ड र बजार सञ्चालक नेप्सेको सक्रियता निकै कम भएको मैले देखेको छु । 

सानो पूँजीसहित लगानी गर्ने उपयुक्त ठाउँ बनेको छ सेयर बजार यसमा दुईमत छैन । मुलुकको महत्वपूर्ण आर्थिक सूचक जीडीपी ३ वर्षदेखि लगातार ६ प्रतिशतमा अर्थतन्त्र विस्तार हुनु यो इतिहास हो । आर्थिक गतिविधिले पूँजी बजारलाई सुनौलो मार्ग प्रदान गर्दछ । मोफसलमा समेत ब्रोकरहरुका ४१ शाखामार्फत दोस्रो बजार विस्तार भएकाले बजार विस्तार भई लगानी बढिरहेको यथार्थ हो । यसले पूँजीबजारमा थप अवसर सिर्जना भइरहेको छ ।

पूँजीबजारलाई पूर्ण प्रतिस्पर्धात्मक बनाउन इलाइट ग्रुपबाट अलग्याउँदै उनीहरुको प्रभाव र दवाबबाट नियामक सेबोन र नेप्से उम्कन खोजेमा बजार थप पारदर्शी बनाउन ठूलो चूनौति रहेको छ । 

औद्योगिक नीति २०६७ ले नीतिगत रुपमा संस्थागत लगानीकर्तालाई खुल्ला गरेतापनि कानून नबनेकाले बैदेशिक पोर्टफोलियो लगानी भएको छैन । 

पूँजीबजारलाई नियामक र अर्थमन्त्रालयले समेत प्राथमिकतामा नराखेको देखिन्छ । 

थोरै जानकार सरकारले समेत सकारात्मक हिसाबले नबुझेको आम सर्वसाधारणले महसुस गरिरहेका छन् । 

राजनीतिक नेतृत्वको दर्शन र व्यवहारमा तालमेल नमिलिरहेको छ भने अर्कातर्फ सरकार नै अन्यौल अवस्थामा छ । सरकारको दोधारे नीति र पूँजीबजार सम्बन्धी कुनै स्पष्ट भिजन नहुनु निकैै दुःखदायी हो ।

सेयरबजारलाई प्राकृतिक र सर्वव्यापी पहुँच बनाउन के गर्नुपर्ला ?

-सर्वप्रथम त प्रविधिमैत्री पूँजीबजार बन्नुपर्छ । व्यक्तिगत आइडी लिएर सोही आइडीबाट खरिदबिक्री गर्न पाए लगानीकर्ताहरुको पहँुच विस्तार हुन्छ । राजनीतिक आत्मविश्वास सहितको भिजन पनि जरुरी देख्छु ।  सानो पूँजीबाट पनि सेयर बजार प्रवेश गर्ने थलो भएकाले वित्तीय साक्षरताको प्रचारप्रसार निकै आवश्यक छ ।

सेयरमा लगानी गर्दा कस्तो रणनीति अपनाउनुपर्छ ?

-हामीले लगानीलाई अल्पकालीन र दीर्घकालीन लगानी बाँडफाँडको नीति लिनुपर्छ । योजनासहितको सूचना तथा जानकारीको विश्लेषण गर्नु महत्वपूर्ण ठहर्छ । 

कम्पनीहरुका पोटेन्सियल ग्रोथलाई आधार बनाएर लगानी गरेमा कहिल्यै घाटा व्यहोर्नुपर्दैन । लगानी विविधिकरण वित्तीय र रियल सेक्टरबीच लगानी बाँडिनुपर्छ ।

तपाइँले अनौपचारिक कुराकानीमा हामीसँग नेप्से इण्डेक्स प्रवेश गर्दा गरेको लगानी तीनचौथाइ नोक्सान भएको छ भन्नुभयो, यो असफलताबाट के कस्तो पाठ सिक्नुभयो ?
-आवेगमा लगानी गर्दा क्षति हन्छ । इण्डेक्सलाई ब्याकअप गर्ने गरी कम्पनीको प्रतिफल बढेको छ कि छैन यसमा समेत चनाखो हुनुपर्ने रहेछ । विभिन्न कम्पनीको विश्लेषण नगरी सेयर बजारको गतिलाई विश्लेषण गर्नु भएन । सेयरको विश्लेषण नगरी पोटेन्सियललाई हेरिएन भने त्यो भूल हुने रहेछ ।

हाल सरकारले भनिरहेको आर्थिक समृद्धिको युग आउन संभव छ ?

-अहिले राजनीतिक स्थिरता छ । तर, पोलिटिकल आइडोलोजी र पोलिसी बीच तालमेल देखिएन । 

शिक्षा, कृषि, रोजगारी, स्वास्थ्य लगायतका क्षेत्रमा सरकारले दोधारे नीति लिएको देखिन्छ । यस्तो पाराले कसरी समृद्धि आउँछ ? 

जस्तो सरकार स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कुरा गर्छ, तर दिनहुँ नयाँ नयाँ रोजगारका गन्तव्यमा श्रमशक्ति पठाउन विभिन्न देशसँग सम्झौता गर्न पनि छाड्दैन । सरकारको यो अलमल र दोधारे नीति कहिलेसम्म ?

सम्भावना नेपालमा नभएको होइन । प्राकृतिक स्रोत तथा साधन, तुलनात्मक लाभको क्षेत्र, जलश्रोत, जलविद्युत्को प्रचूर सम्भावना रहेको मुलुक हो नेपाल । बिमस्टेक, बीबीआइएन, साप्टा लगायतमा हाम्रो आबद्धताले अन्तरदेशीय प्रसारण लाइनको विकासले प्राथमिकता पाएको छ । यसले पनि सम्भावना बलियो बनाउँदै लगेको छ । 

पर्यटन र सामाजिक सांस्कृतिक विविधताले सम्भावना बढाएको छ । भारतको पर्यटकीय गन्तव्य किफायती देशमा परेकाले पर्यटनमा अथाह सम्भावना छ । 

प्रयास गर्ने हो भने यूरोपियन मुलुकबाट हामीले प्रशस्त एफडीआई भित्र्याउन सकिन्छ । बिदेशबाट आएका दिमाग र पैसा भएकाहरुबाट व्यापक कायापलट गर्न सकिन्छ । 

निजी क्षेत्र सशंकित र त्रसित देखिन्छ । बैदेशिक लगानीमा अघिल्लो वर्षभन्दा ३० प्रतिशतले गिरावट आएको छ । कर र जीडीपीको अनुपात २५ प्रतिशत छ, जुन दक्षिण एसियामै सबैभन्दा उच्च हो । करको दायरा कम गरे लगानी बढ्छ । मुलुकभित्र दक्ष जनशक्ति, पूर्वाधार र कच्चा पदार्थको अभाव रहेकाले यसमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।