काठमाण्डौ । काठमाण्डाको भृकुटीमण्डको प्रर्दशनीस्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला सुरु भएको छ । 

“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा सोमबारदेखि मेला सुरु भएको हो । मेला माघ ४ गतेसम्म चल्नेछ । 

मेलामा संघमा आवद्ध विभिन्न उद्योगहरुले उत्पादन गरेका जुत्ताहरु बिक्रीका लागि राखिएका छन् । नेपालको भौगोलिक स्थिति, नेपाली उपभोक्ताहरुको सरदर आय तथा आमउपभोक्ताहरुको रुचिलाई मध्यनजर गरी उत्पादन गरिएका उत्पादनहरु अत्यन्त आर्कषक र सुलभ मूल्यमा पाइने आयोजकको भनाइ छ । 

जुत्ता उत्पादन क्षेत्रमा नेपाल आत्मनिर्भर बन्दै गएको परिप्रेक्षमा संघमा आवद्ध उद्योगहरुमा नेपाली सिप र श्रमको प्रयोग भएकोले साचो अर्थमा यहाँका उत्पादनहरु विशुद्ध नेपाली रहेका आयोजकको दाबी छ । 

नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई वैज्ञानिक रुपले आधुनीकीकरण गर्दै भबिष्यमा विदेशी बजारमा समेत सुपरीचित गराउँदै  राष्ट्रिय अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने मेलाको लक्ष्य रहेको छ । मेलामा करिब ७० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य राखिएको छ । 

आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्म निर्भर गराउने पनि मेलाको लक्ष्य रहेको छ ।

पछिल्ला उत्पादनहरुभन्दा नितान्त नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु प्रर्दशन राखिएका छन् । गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ति प्रयोग गरी उत्पादन गरिएका जेन्स, लेडिज, बच्चाका जुत्ताहरुलगायत अल्लो तथा हेम्पद्वारा निर्मित वस्तुहरु पनि प्रर्दशन तथा बिक्री वितरण गरिने संघले जनाएको छ । 

अपांगगता भएका व्यक्तिहरुका लागि विषेश किसिमका जुत्ताचप्पलहरु मेलामा उपलब्ध हुनेछ । आफ्नो उत्पादनको गुणस्तरका बारेमा उपभोक्तालाई प्रत्यक्ष जानकारी गराउने मेलाको मुख्य उद्देश्य रहेको छ । 

मेलामा बिक्रीवितरण गरिने जुत्तामा ६ महिनासम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशतसम्मको छुट दिइने आयोजकले जनाएको छ । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र प्रवद्र्धक रहेको बेलाका सहआयोजकमा घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्स रहेका छन् । 

मेलाका प्रायोजक सगुन सुज र ग्लोबल सुज तथा सहप्रायोजक सिटिजन फुटवेयर, युनिभर्सल फुटवेयर र कम्फर्ट सुज रहेका छन् ।