काठमाण्डौ ।  धनुषाको जनकपुरधामलाई ‘क्यासलेस’ सहर बनाउने अभियानको थालनी भएको छ ।

यो अभियानलाई मूर्त रुप दिन हालै जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सीईओ विकासकुमार नाहाटा र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि आइएमई डिजिटल सोलुसनले जनस्तरसम्म वित्तीय पहुँच पुर्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरधामलाई क्यासलेस बनाउन केन्द्रित रहनेछन् ।
 

सोही अवसरमा विश्वका विकसित सहरहरु क्यासलेस भइरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस सहरका रुपमा विकसित गर्ने अभियानका लागि ‘पैसा कार्ड’ को औपचारिक सुरुआत भएसँगै जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस सहर बनाउने अभियानको थालनी भएको हो ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरका रुपमा विकसित गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए । 

आइएमईको सीईओ सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहे पनि ठूलो सम्भावना रहेको बताए । पोखरेलले यसका लागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षासमेत गरेका थिए । 

यसैगरी आइएमई डिजिटल सोलुसन लिमिटेडका सीईओ विकासकुमार नाहाटाले यदि आफूलाई डिजिटल वित्तीय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्काजस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गर्न सकिने बताए । यो वित्तीय समावेशीकरणले मानिसलाई बैंक खातामा परम्परागत फारम बिना नै बैंकिङमा जडान गर्न मद्दत गर्दछ । 

आइएमई ‘पैसा कार्ड’ जनकपुरवासीको जनजीवनको अभिन्न अंग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास नाहाटाले व्यक्त गरे ।