काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाईरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । यस्तो विषम परिस्थितिमा नेपाल जस्तो सानो अर्थतन्त्रमा आर्थिक रुपले निकै ठूलो असर परिरहेको छ । नेपालको सामाजिक सहिष्णुता, सरकारका उचित कदम तथा स्वास्थ्यकर्मीहरुको अथक प्रयासले हालसम्म मानवीय संकट आई सकेको छैन । यसका लागि नेपाल सरकार तथा यो रोगसँग जुध्न अग्रपंतिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग परिसंघ प्रशंसा गर्दै  धन्यवाद समेत दिन चाहेको छ ।

यस्तो नाजुक अवस्थामा परिसंघ मानवीय संकट आउन नदिन प्रतिवद्ध रहेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरी खाद्य सामाग्रीहरु वितरण गर्ने कार्य जारी राखेको जनाएको छ । यो संकटको घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न परिसंघ प्रतिवद्ध रहेको बताएको छ । 

विश्वमै कोरोना भाईरसका कारण आर्थिक तथा मानवीय क्षति भई रहेको अवस्थामा नेपालमा यसको असर कम गर्दै मानवीय संकट आउन नदिन संघीय, प्रादेसिक तथा स्थानीय सरकारसंग थप समन्वय तथा प्रभावकारीताको अपेक्षा गर्दै सरकारले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्न नेपाल उद्योग परिसंघ सवैसँग  आग्रह गरेको छ । यस्तो विसम परिस्थितिमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्तरता दिदै सोको आपूर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत  आग्रह गर्दछ ।