काठमाण्डौ । कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउन र निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार आज बिहीबारदेखि सञ्चालनमा आएको छ।

चन्द्रागिरि हिल्स लिमिटेडले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी केबलकार सञ्चालनमा ल्याइएको जनाएको छ। चन्द्रागिरि केबलकारका ३८ वटा डिब्बा छन्। ती सबै डिब्बा सञ्चालनमा ल्याइएको छ।

एउटा डिब्बा ८ जनासम्मको क्षमता भए पनि हाल ५० प्रतिशतमात्र यात्रु राखेर केबलकार सञ्चालनमा ल्याइएको चन्द्रागिरि हिल्सले जनाएको छ। अहिले एउटा डिब्बामा ४ जनामात्र राखेर केबलकार सञ्चालन भइरहेको छ।

केबलकार सञ्चालनमा आएसँगै यात्रुको चाप पनि बढेको छ। यात्रुको सुविधाका लागि त्यहाँ रहेको चन्द्रागिरि हिल्स रिसोर्टसमेत खुला गरिएको छ।