काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहे पनि पुनः लकडाउन गर्न आवश्यक नरहेको बताएका छन् । 

सरकारले २ पटकको लकडाउन र निषेधाज्ञाबाट पाठ सिकिसकेको विश्वास आफूमा रहेको उल्लेख गर्दै उनले बाहिर हल्ला भएजस्तो पुनः लकडाउन हुने कुरामा आफूलाई विश्वास नभएको बताए । 

‘फेरि पनि लकडाउनको विषय उठाइरहँदा तुलनात्मक रुपमा जोखिमको अवस्था मूल्याङ्कन गरिनुपर्छ । देशका लागि ठूलो इस्यू के हो भन्ने कुरा हेरिन आवश्यक छ ।’ बिजशालासँग कुरा गर्दै गोल्छाले भने–‘फेरि लकडाउन लगाउनुपर्छ भनेर कसैले भन्छ भने उसले देशको अर्थतन्त्रको हालत हेर्नुपर्छ । अब पनि लकडाउन भयो भने धेरै नेपाली भोकमरीले मर्नुपर्ने अवस्था आउँछ ।’ 

उनले कोरोना संक्रमण नियन्त्रणको विकल्प लकडाउन नभएको कुरा यसअघि नै पुष्टि भइसकेकाले यसतर्फ सोच्न आवश्यक नरहेको बताए।

‘हामीले प्रधानमन्त्री जीसँग पनि भेटेर यो विषय भनिरहेका छौं । उहाँ पनि फेरि लकडाउन गर्ने पक्षमा हुनुहुन्छ जस्तो लाग्दैन ।’ उनले थपे–‘अब सचेत भई सरकारले बनाएका प्रोटोकल फलो गर्दै बर्बाद अवस्थामा रहेको अर्थतन्त्रलाई जोगाउनुपर्छ । सबैले गरिखान पाउनुपर्छ ।’