काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र नेपाल चिकित्सक संघको संयुक्त पहलमा सञ्चालित टेलिमेडिसिन सेन्टरबाट दैनिक ३०० जनाले परामर्श सेवा पाइरहेका छन्। 

यो टेलिमेडिसिन सेन्टर गत जेठ १६ गतेबाट सञ्चालनमा ल्याइएको हो। हालसम्म टेलिमेडिसिन सेन्टरबाट स्वदेश तथा विदेशका गरी कोभिड तथा ननकोभिड बिरामीले दैनिक रुपमा ३०० जनाले परामर्श सेवा प्राप्त गरिरहेको चेम्बरले जनाएको छ। 

हाल नयाँ भेरियन्टको कोभिड(१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौँ”  भन्ने अभियानअन्तर्गत यो टेलिमेडिसिन सेन्टर सञ्चालनमा ल्याइएको हो। यसका लागि नेपाल चेम्बर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दैनिक रुपमा ३०० जनाले सेवा प्राप्त गरेको जानकारी दिँदै आगामी दिनमा अन्य बिरामीहरुले पनि यस सेवाबाट परामर्श प्राप्त गर्न सक्ने र अस्पतालमा जान असमर्थ बिरामीहरुले यस सेवाबाट लाभान्वित हुने बताए। 
यो केन्द्र सञ्चालनका लागि साल्ट ट्रेडिङ
कर्पोरेसन तथा इश्वरलाल प्रतिष्ठानको पनि सहप्रायोजन  रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तिहरुले ‘मेरो डाक्टर’ एप डाउनलोड गर्नु पर्छ। उक्त एप कसरी प्रयोग गर्ने सम्बन्धमा www.merodoctor.com/help  मा गई यसबारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ ।