चितवन । प्रचण्ड र शेरबहादुर देउवाबीच स्वार्थप्रेरित चुनावी तालमेलका कारण बिच्किएका कांग्रेस कार्यकर्ताले मतदानको क्रममा त्यसको रीस फेरेका भेटिएको छ । 

प्रचण्डपुत्रीलाई भरतपुरको मेयरमा समर्थन गर्ने पार्टी केन्द्रको निर्णयविरुद्ध प्रारम्भदेखि नै विरोधमा रहेका चितवनका कांग्रेस कार्यकर्ता तथा कांग्रेस समर्थकले मतदानको क्रममा रेणुलाई अन्तरघात गरेका भन्दै माओवादी कार्यकर्ता आक्रोशित भएका छन् । 

भरतपुर महानगरपालिकाको वडानम्बर १ को मतगणना सम्पन्न हुँदा एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीले १५१३ मत प्राप्त गरे भने रेणु दाहालले ११३५ मत प्राप्त गरिन् । कांग्रेसले समेत समर्थन गरेको मेयरको उम्मेद्वार रेणु दाहाल यो वडामा एमालेका उम्मेद्वारसँग पछि परे पनि वडाध्यक्षमा भने कांग्रेस उम्मेद्वारले स्पष्ट बहुुमतसहित जित हासिल गरेका छन् । १ नम्बर वडाका अध्यक्षमा कांग्रेसका जयराम श्रेष्ठले जित हासिल गरेका छन् । एउटै वडाबाट अध्यक्षमा चाहि कांग्रेसले जित्नु, तर मेयरमा भने कांग्रेस गठबन्धनकी उम्मेद्वारलाई रेणुुलाई भोट नदिएर एमालेका ज्ञवालीलाई दिनुले समेत कांग्रेस कार्यकर्ता र समर्थकले माओवादीलाई राम्रै अन्तरघात गरेका देखिने एक स्थानीय माओवादी नेताले बताएका छन् । 'सबै वडामा यस्तै अन्तरघात भयो भने हामीले हार्ने अवस्था देखियो ।' रेणुु दाहाललाई टिकट दिएको बिषयमा असन्तुष्ट ती जिल्लास्तरका नेताले बिजशालासँग टेलिफोनमा भने-'रेणुुलाई वडानम्बर १ बाट माओवादीकै प्रतिबद्ध भनिएका भोटहरु पनि नआएका हामीले आशंका गरेका छौ ।' 

कांग्रेस कार्यकर्ताले रेणुुलाई घात गरेको अर्को प्रमाण उपमेयरका उम्मेद्वारको मत पनि हो । मेयरमा एमालेका ज्ञवाली निकै फराकिलो मत अन्तरले रेणुु भन्दा अगाडि छन् । तर, १ नम्बर वडाको मत गनिसक्दा उपमेयरमा कांग्रेसकी उम्मेद्वार पार्वती शाहले भने १४०१ मतसहित अग्रता हासिल गरेकी छिन् । सोही वडाबाट एमालेका उपमेयरका उम्मेद्वार दिव्या आचार्यले ११८८ मत मात्र प्राप्त गरेकी छिन् । उपमेयरकै मतले समेत रेणुुलाई छाडेर कांग्रेस कार्यकर्ताहरुले एमालेका ज्ञवालीलाई मेयरमा मत दिएका प्रष्ट बुुझ्न सकिन्छ ।