काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाल तथा परिसंघका पदाधिकारीहरुको सम्मानमा चेम्बर भवनमा आयोजित कार्यक्रममा स्वागत गरेका छन्। 

कार्यक्रममा अध्यक्ष मल्लले मुलुकको साझा अजेन्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताए। ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको छ । कोभिडको पहिलो तथा दोस्रो लहरको संक्रमणले लामो समयसम्म लकडाउन भई अर्थतन्त्रले थप क्षति व्यहोर्नुपरिरहेको छ’, उनले भने, ‘खुला बजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुन्छ । अर्थतन्त्रलाई पुनर्स्थापित गर्नका लागि खोपलाई प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरुबीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक रहेको छ।’

अध्यक्ष मल्लले निजी क्षेत्रसँग सम्बन्धित व्यावसायिक सामाजिक उत्तरदायित्व कोषलगायत कतिपय बिषयहरु सम्वोधन हुन नसकेकोले यसका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच एकताको आवश्यकता रहेको औँल्याए। 

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित स्वागत कार्यक्रमका लागि धन्यवाद व्यक्त गर्दै आजको यस कार्यक्रमले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच एकताको सन्देश दिएको बताए। ‘विगतमा निजी क्षेत्रका तीन टै प्रतिनिधिमूलक संस्थाहरुले कतिपय सवालहरुमा साझा अवधारणाहरु प्रस्तुत गरेका उदाहरणहरु छन्’, उनले भने, ‘जुन धेरै प्रभावकारी भएको छ।’

अध्यक्ष अग्रवालले विभिन्न व्यवसायहरुबीच मतमतान्तर हुनु स्वाभाविक भए पनि आफूहरुको मुलुकको आर्थिक विकासको सवालमा एउटै मत रहेको बताए। ‘निजी क्षेत्र प्रतिको नकारात्मक धारणालाई मेटाउन आजको आवश्यकता रहेकोले यसका लागि हामी एकजुट भएर अगाडि बढ्नुपर्ने बेला आएको छ’, उनले भने। 

कार्यक्रममा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्षहरु उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्रकुमार श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्बर प्रचार प्रसार समितिका सभापति सन्तोषकुमार पाण्डेको उपस्थिति थियो ।