काठमाण्डौ । प्रचण्डपुत्री रेणु दाहालले अग्रता लिइञ्जेल चूपचाप रहेका कांग्रेस र माओवादी कार्यकर्ताहरुले एमाले उम्मेद्वार देवी ज्ञवालीले पुनः अग्रता लिन थालेपछि धाँदलीको आरोप लगाउँदै मतगणना बहिस्कार गरेका छन् । 

केही वडाको मतगणनाको क्रममा टिपोट गर्नेहरुले टिपेको मत र निर्वाचन कार्यालयका अधिकारीले कम्प्युटरमा इन्टी गरेको मत फरक परेको र निर्वाचन कार्यालयका कर्मचारी सुनियोजित रुपमा कांग्रेस माओवादी गठबन्धनको तर्फबाट मेयरकी उम्मेद्वार रेणु दाहाललाई हराउन लागिपरेको आरोप लगाउँदै मतगणना कार्य बहिस्कार गरेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल एक कार्यक्रमको सिलसिलामा शुक्रबार नै चितवन हुँदै नवलपरासी पुुग्नु, उनी जाँदा नजाँदै पुत्रीले १४४ मतले अग्रता लिनुु र बेलुका भएको गणनाको क्रममा एमालेले पुनः अग्रता लिन थालेपछि धाँदलीको आरोप लगाउँदै मतगणना कार्य नै बहिस्कार गरेर हिँड्नुलाई कतिपयले अर्थपूर्ण घटनाक्रम भनेका छन् । 

धाँदलीको आरोप लगाई मतगणना बहिस्कार गरेपछि कांग्रेस माओवादी गठबन्धनको तर्फबाट स्थानीय जिल्ला नेताहरुले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा मागेका छन् । पत्रकार सम्मेलनमा आक्रोशित मुद्रामा प्रस्तुत भएका उनले भने-'मतगणनास्थलमा गणकले टिपेको तथ्यांक र निर्वाचन अधिकृतले कम्प्युटरमा टिपोट गरी चढाएको प्रिन्ट फरक देखियो । स्पष्ट रुपमा धाँदली देखियो ।' 

उनले भरतपुर महानगरपालिकाको वडानम्बर ४, ७ र ९ को मतपरिणाम सार्वजनिक गर्दा धाँदली भएको आरोप लगाए । केही वडाको मतगणनाको अन्तिम नतिजा नआउँदै निर्वाचन कार्यालयबाट बाहिरिएको अपुुष्ट खबरको आधारमा कांग्रेस कार्यकर्ताले जितको खुशियाली मनाएका थिए । तर आधिकारिक नतिजा आउँदा केही मतले एमाले उम्मेद्वारले जितेको देखिएको थियो । कांग्रेसले यो बिषयलाई समेत धाँदलीको नमूना भनी पत्रकार सम्मेलनमा प्रस्तुत गरेको थियो । 

माओवादीका स्थानीय नेताहरुले निश्पक्ष मतगणनाको प्रतिबद्धता नआएसम्म गणनामा भाग नलिने उद्घोष गरेका थिए । स्थानीय पत्रकारहरुका अनुसार अहिले मतगणनास्थल बाहिर कांग्रेस र माओवादीका कार्यकर्ताहरुले वडानम्बर ९ को मतगणना पुनः गर्नुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरिरहेका छन् । 

आयोगले सार्वजनिक गरेको पछिल्लो गणनामा एमालेका उम्मेदवार देवी ज्ञवालीको १५ हजार १ सय ५५ र माओवादीकी उम्मेदवार रेणु दाहालको १४ हजार ८ सय ९ मत छ। उनीहरूले ९ नम्बर वडाको गणनापछि  रेणु दाहालले ५ सय मतले अग्रता लिनुपर्नेमा उल्टै ३ सय बढी मतले पछि पर्ने गरी तथ्यांक सार्बजनिक गरिएको भन्दै आक्रोश पोखेका छन्।