काठमाण्डौ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघद्वारा नवनिर्वाचित आइक्यान पार्सदहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ। 

संघका नवनिर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा सम्माननीय राष्ट्रपति ज्यूबाट विभूषण प्राप्त गरेका संघका सदस्यहरुलाई संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेका हुन्। कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवाश्री पदकद्वारा विभूषित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ तथा संस्थाका पूर्वअध्यक्ष नारायण बजाज (हाल देश बाहिर रहेका), नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका आजिवन सदस्य तथा राष्ट्रिय सहकारी बंैकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा अध्यक्ष वाग्लेले ICAN, ACAN, AUDAN, ASB / AUSB  सबै संस्थाहरुको प्रत्यक्ष–परोक्ष उद्देश्य लेखा व्यवसायको प्रवर्द्धन, सम्बर्द्धन र विकास रहेकोले एकअर्काका परिपूरक तथा साझेदारको रुपमा कार्य गर्नुपर्ने बताए। 

सम्मान कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित अध्यक्ष युद्धराज ओलीले चार्टर्ड एकाउन्टेन्ट्स बीचको सहकार्यले समग्र पेसाको स्थायित्व कायम गर्न सहयोग गर्ने विचार प्रकट गरे। कार्यक्रममा नेपाल अडिटर यसोसियसनका अध्यक्ष मोहनराज रेग्मी, लेखामान बोर्डका अध्यक्ष महेश खनाल, लेखापरीक्षक बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए।