विराटनगर। विराटनगरसहित प्रदेश १ को धरान र काँकडभिट्टाबाट काठमाण्डौका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ। 

विराटनगर–काठमाण्डौका लागि सुविधा सम्पन्न बुलेट एसी बस सञ्चालनमा आएका हो। बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाण्डौदेखि यो बस सञ्चालन गर्ने भएको हो। विराटनगर–काठमाण्डौका लागि १ हजार ७५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दसैँ अफरका रुपमा १ हजार ५०० रुपैयाँ कायम गरिएको छ। 

भाइकिङ बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ। यसका सवार यात्रुका लागि कम्पनीले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउनेछ। कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ। किट उपलब्ध गराएबापत यात्रुले छुट्टै रकम बुझाउनुपर्ने छैन। 

किटमा पानी, ग्लोब्स, मास्क र केही रुघाखोकी लाग्दा सेवन गर्ने औषधिहरु समावेश गरिनेछ। सरोज न्यौपाने र उमेश खड्कालगायतले यो बुलेट बस प्रालिमार्फत सातवटा बस सञ्चालनमा ल्याएका हुन्।

१० करोड ५० लाखको लागतमा सञ्चालनमा ल्याइएको बुलेट बसमा हवाई जहाजको जतिकै सुविधा रहेको दाबी गरिएको छ। यात्राका लागि यात्रुले अनलाइन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने ब्यवस्था गरिएको छ। 

बुलेट बस सञ्चालक समूहले २७ सिटर बस २÷१ सोफा लक्जरी सिटसहितको बसहरु सञ्चालनको तयारीसमेत गरेको छ। त्यसमा भने शौचालयको सुविधा बसभित्रै हुनेछ।