काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेको देशभर साताव्यापी कार्यक्रमअन्तर्गत आज बैंकका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ। 

विभिन्न शाखा कार्यालयले देशका विभिन्न स्कुल, कलेज, सामुदायिक संघसंस्थाहरुमा आबद्ध रहेका विभिन्न व्यक्तिहरुलाई वित्तीय साक्षरता दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो। 

बचतको महत्व सिकाउने, बैंकिङ कारोबारसम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैंकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणालीमार्फत आर्थिक कारोबार गर्न सन्देश प्रवाह गर्नेलगायतका बैंकिङ सेवासम्बन्धी जनचेतना सिर्जना गर्ने उद्देश्यका साथ विशेषगरी बैंकिङ सुविधा प्राप्त गर्न नसकेका विद्यार्थी तथा जनसमुदायलाई लक्षित गरी यससम्बन्धी कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। 

देशभर रहेका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट आजको दिन लगभग  ६ हजार ५०० जनाले उक्त कार्यक्रममा भाग लिएका थिए। उक्त कार्यक्रमले बैंकको शाखा कार्यालय रहेका क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुगेको विश्वास बैंकले लिएको छ। 

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहक तथा सेयरधनीको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औँ वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ। यसका साथै अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ।