काठमाण्डौ । रेमिट्यान्स बजारमा पछिल्ला दिनमा बलियो उपस्थिति जनाउँदै आएको इसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेसियाको अग्रणी रेमिट्यान्स कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

यस सम्झौतासँगै मलेशियालगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीले इसेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा  पठाउन सकिनेछ।  यसका साथै नेपालमा रहेका  इसेवा मनी ट्रान्सफरका ८ हजारभन्दा धेरै एजेन्टमार्फत पैसा पाउन सकिनेछ। 

यसैगरी ५० लाखभन्दा बढी प्रयोगकर्ता रहेको इसेवा वालेटमा ट्राङ्लोका नेटवर्कमार्फत आएको रेमिट्यान्स लोड गर्दा रु.७७ को वालेट बोनस प्राप्त हुनेछ। यसका साथै सीधै बैंक खातामा पनि रेमिट्यान्स प्राप्त गर्न सकिनेछ। 

ट्राङ्लोसँगको सम्झौतासँगै इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले भने, ‘ट्राङ्लोजस्तो विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक कम्पनीसँग रेमिट्यान्स भुक्तानी सम्झौता गर्न पाएकोमा हामी निकै उत्साहित छौँ। यसले हाम्रो नेटवर्कलाई अझ विस्तार गर्नुका साथै अधिकांश बाहिरी मुलुकबाट नेपालमा सहजै रेमिट्यान्स भुक्तानी गर्ने एउटा भरपर्दो माध्यम थपिएको छ।’

सन् २००८ मा स्थापित भएको ट्राङ्लो मलेसियाको अग्रणी रेमिट्यान्स कम्पनी हो। ट्राङ्लो एसियाकै अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक बनिसकेको छ। जसले एयरटाइम टप–अपमात्र नभई विदेशी रेमिट्यान्स भुक्तानीका लागि पनि स्मार्ट सेवाहरू प्रदान गर्दै आएको छ। 

विश्वका १२८ देशमा सञ्जाल स्थापना गरेको ट्राङ्लोको हाल १३०० वटा पे आउट पार्टनर छन् भने यसका प्रमुख कार्यालयहरु क्वालालम्पुर, लन्डन, जकार्ता, युनाइटेड अरब इमिराट्स, र सिंगापोरमा रहेका छन्।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो।