काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार एमालेको जित निश्चित भइसकेको छ । करिब साढे १३ हजार मत गन्न बाँकी छँदा एमालेले कांग्रेसभन्दा करिब साढे १६ हजार बढी मतले अग्रता लिएको छ । अब गणना हुने सबै भोट कांग्रेसलाई गए पनि उसले हार्ने पक्का छ ।
निर्वाचन कार्यालयका अनुसार काठमाण्डौमा कुल १ लाख ७२ हजार ६ सय ८३ मत खसेको थियो । हालसम्म १ लाख ५९ हजार १ सय ७५ मत गणना भइसकेको छ । हालसम्म १३ वटा वडामा एमाले र ११ वटा वडामा कांग्रेसले जित हात पारेको छ ।
कुल ३२ वडा रहेको काठमाण्डौमा हालसम्म २४ वटा वडाको मत गणना भइसकेको छ । ८ वडाको मतगणना हुन बाँकी रहँदा मेयरमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले ५२ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले ३६ हजार ९ सय ८१ मतले पछ्याइरहेका छन् । तेश्रो स्थानमा रहेकी विवेकशीलकी रञ्जुु दर्शनाले १९ हजार २ सय ५६ र चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले १४ हजार ८ सय ६१ मत प्राप्त गरेका छन् ।
एमालेको जित सुनिश्चित भएपछि कांग्रेस उम्मेद्वार राजुुराज जोशीले टेलिफोन गरी एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यलाई बधाई दिएका छन् । आफूले अब जित्ने अवस्था नरहेकोले शाक्यलाई टेलिफोन गरी बधाई दिएको जोशीले बिजशालालाई बताए ।
उपमेयरमा भने कांग्रेस उम्मेद्वार हरिप्रभा खड्गीको फराकिलो अग्रता छ । उनले ४८ हजार १ सय १ मत ल्याएकी छिन् । उनलाई राप्रपाका राजाराम श्रेष्ठले २८ हजार ४ सय २० मतले पछ्याइरहेका छन् । काठमाण्डौमा एमाले र राप्रपाले चुनावी तालमेल गरी मेयर र उपमेयरमा उम्मेद्वारी दिएका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago