काठमाण्डौ । नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा नेपाली ख्याति प्राप्त म्युजिक ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्यान्ड प्लेइङ फर चेन्ज फाउन्डेसन (पीएफसीएफ) ले मंगलबार पर्यटन बोर्डमा  सांगीतिक कार्यक्रमका विषयमा अन्तक्रिया सम्पन्न भएको छ। 

अन्तरक्रियामा पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गीत संगीत पर्यटन प्रवर्द्धनका लागि सशक्त माध्यम भएको उल्लेख गरिन्। उनले सुरसुधा र पीएफसीएफले गरेका कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। ‘अहिले नेपालमा करिब ९० प्रतिशतले कोरोनाविरुद्धको खोप लिइसकेको अवस्था छ। नेपाल पर्यटनका लागि पुनः खुला भएकाले अब पर्यटकीय गतिविधि चलायमान हुने अपेक्षा गरेका छौँ’, उनले भनिन्। 

यस्तै सुरसुधाका संस्थापक सुरेन्द्र श्रेष्ठले पीएफसीएफले विश्वभरका कलाकारहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै विश्व शानितको सन्देश दिने गरेको बताए। उनले संगीतका माध्यमबाट विश्वभर नेपाली पर्यटन प्रवर्द्धन गर्न सकिनेसमेत बताए। 

कार्यक्रममा पीएफसीएफका सहसंस्थापक विलियम औराले संगीतले शान्ति सद्भाव र एकताको प्रतिक भएको बताउँदै नेपालको विविधिताबाट प्रभावित रहेको धारणा राखे। 

पीएफसीएफमा कार्यकारी निर्देशक ज्याक ग्रोसङले मजबुतको नेपाल कला र संस्कृतिका हिसावले धनी रहको उल्लेख गर्दै संगीतका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन हुनेमा आफस् र आफ्नो टिम विश्वस्त रहेको बताए। 

सुरसुधाले सन् २००९ देखि प्लेइङ फर चेन्ज फाउण्डेशनसँगको सहकार्यमा नेपाली संगीतलाई विश्वमाझ पुर्याउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यी दुवै ब्यान्डको सहकार्यमा नेपाल तथा विश्वभर विभिन्न कार्यक्रमसमेत आयोजना हुनेछन्।