काठमाण्डौ। काठमाण्डौको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबो बोसनमा केबलकार सञ्चालनमा आउने भएको छ। चम्पादेवी ईको फ्रेन्डली कम्पनी प्रालिले केबलकार सञ्चालन गर्ने भएको हो। 

कम्पनीले एक पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराएको हो। कम्पनीका तर्फबाट सञ्चालक कमलेश कुमार अग्रवालले केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रक्रिया सुरु हुने जानकारी दिए। उनका अनुसार अबको तीन वर्षमा निर्माणकार्य सम्पन्न भई केबलकार सञ्चालनमा आउनेछ। 

कम्पनीका अनुसार चम्पादेवी माताको मन्दिर रहेको डाँडाहरु गरी करिब २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ। केही प्राविधिक एवं कानुनी अवरोधहरुको निकास सर्वोच्च अदालतबाट २०७४ कात्तिक २८ को निर्णयबाट प्राप्त गरिसकेपछि यो परियोजनाको कार्य तीव्रगतिले प्रारम्भ गरिएको कम्पनिले जनाएको छ। 

यो केबलकार परियोजना २०७६ वैशाख २ गते बसेको ७१ औँ नगर कार्यपालिकाको निर्णयअनुसार २०७६ वैशाख ६ मा केबलकार निर्माण तथा सञ्चालन अनुमतिप्राप्त भएको हो। 

कम्पनीले दक्षिणकाली नगरपालिकाबाट २०७६ वैशाख ६ गते निर्माण तथा सञ्चालन अनुमतिपत्र प्राप्त गरेपश्चात निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपाल तथा नेपालबाहिर विभिन्न देशमा वस्ने भएको हुँदा निज जग्गाधनीहरुलाई सम्पर्क गरी निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन र रोप वेका जग्गाहरु खरिद गर्ने काम सम्पन्न गरिएको छ। 

कम्पनीले उक्त कार्य गर्दागर्दै कोभिड महामारी देशैभरि फैलिई देशै बन्द रहेको अवस्था भएकोमा ६ महिना काम गर्न नसकी सोपश्चात उक्त क्षेत्रको खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसनसम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ एरिया सर्भे गरिएको, रोप वेको सर्भे गरिएको चम्पादेवी माताको मन्दिर एरिया, माउन्टेन–१ र २ सर्भेको काम भएको छ। 

कम्पनीले उक्त केबुलकार सञ्चालनका लागि डिजाइन अस्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ। कम्पनीका अनुसार  त्यहाँ ल्याइने केबलकार युरोपियन केबलकार हुनेछ। 

कम्पनीले चम्पादेवीमाताको मन्दिरको डिजाइन वरिष्ठ आर्किटेक र वास्तु बिशेषज्ञ शंकरनाथ रिमाल बाट गरिएको हो। 

कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानितखर्च गर्ने योजना रहेको व्यहोरा जानकारी गराएको छ। कम्पनीले उक्त केबुलकार २०७९ को अन्त्यमा सुरु गरेर २०८१ को अन्त्यमा सक्ने लक्ष्य राखेको छ। 

कम्पनीले विदेशी लगानीकर्तासमेत भित्र्याउने योजना बनाएको छ। यो परियोजना सञ्चालनका लागि स्थानीयको पनि पूर्ण सहयोगको अपेक्षा गरिएको छ। 

कम्पनीले बोसन गाउँदेखि बेस स्टेसनसम्मका सडकलाई डिजाइन गरेको नक्साअनुसार विस्तारका लागि सम्बन्धित निकायहरुलाई अभिलम्ब आवश्यक पहल गरिदिन आग्रह गरेको छ।