काठमाण्डौ । प्लास्ट नेपाल फाउन्डेसनले प्लास्टले काठमाण्डौमा प्लास्टिक प्रदर्शनी गर्ने भएको छ। 

फाउन्डेसनले आगामी जेठ १२, १३ र १४ गते काठमाण्डौको भृकुटी मण्डपमा ‘प्लास्ट नेपाल २०२२’ नामक प्लास्टिक प्रदर्शनीको आयोजना गर्न लागेको हो। फाउन्डेसनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ।

पहिलो संस्करणको यस्तो प्रदर्शनी यसअघि २०७१ र दोस्रो संस्करण २०७५ मा आयोजना गरिएको थियो। 

अब हुन लागेको तेस्रो संस्करणको यो प्लास्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योग र छिमेकी मुलुक भारतलगायत अन्य देशका समेत करिब ५ हजार प्लास्टिक उद्यमी–व्यवसायी र करिब १ लाख उद्योगी–व्यवसायी र अन्य दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। 

प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, यसका कच्चा पदार्थ र मेसिन उपकरणसमेतका विभिन्न १२६ वटा स्टल राखिने आयोजकले जनाएको छ। 

प्लास्ट नेपाल फाउन्डेसनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ। 

प्लास्ट नेपाल नेपाली प्लास्टिक उद्यमीहरुको छाटा संगठन हो। ‘हामीले नेपालमा प्लास्टिकको दिगो वृद्घिका लागि निरन्तर काम गरिरहेका छौँ। नेपाली उत्पादनलाई प्राथमिकता दिनेदेखि प्लास्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरुसँग मिलेर काम गरिरहेको छ’, फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

नेपालमा प्लास्टिक उद्योग–व्यवसायको प्रवर्द्धन गरी उपभोक्तालाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लास्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यो प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने अपेक्षा आयोजकले राखेको छ।