काठमाण्डौ । कर्पोरेटपे प्रणालीले चालु आर्थिक वर्षमा रु १०० अर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोशेढुंगा पार गरेको छ। 

बैंक तथा वित्तीय संस्थाका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी वर्ष दिनअघि सुरुआत गरिएको कर्पोरेटपे प्राणालीको प्रयोग निकै उत्साहजनक हुँदै आएको छ। हाल ४८ बैंक तथा वित्तीय संस्थामार्फत उक्त प्रणाालीमा बैंक तथा वित्तीय संस्थाका ३ हजार ६०० भन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भई कारोबार गर्दै आएका छन्। 

यस प्रणालीमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ। पछिल्लो समयमा यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीका लागि ‘क्विट पेमेन्ट’ खाताको स्टेटमेन्ट हेर्ने सुविधालगायत नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्माचारी सञ्चय कोष सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन्। 

उक्त प्रणाालीमा व्यावसायिक ग्राहकलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नका लागि आवश्यक Multi- Authorization तथा Multiple signatories को समेत उपयुक्त व्यवस्था रहेको छ। प्रणालीमा रियल टाइममा प्रतिकारोबार रु. २० लाखसम्म र नेपाल सरकारलाई बुझाउने राजस्व सोही बैंकमा भएको अवस्थामा प्रतिकारोबार रु. २०० करोड गर्न सकिन्छ। त्यस्तै नन–रियल टाइम कारोबारको हकमा रु. २० करोडसम्म र नेपाल सरकारको भुक्तानीका लागि रु. ३० करोडसम्म गर्न सकिन्छ। 

यसका साथै यस प्रणालीको एउटै प्लेटफर्ममा एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ।