काठमाण्डौ। प्लास्ट नेपाल फाउन्डेसनले भोलि जेठ १२ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल २०२२’ नामक प्लास्टिक प्रदर्शनी गर्दैछ। 

प्रदर्शनी उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुको प्रमुख आतिथ्यमा हुने गइरहेको छ। जेठ १४ गतेसम्म सञ्चालन हुने यो प्रदर्शनी फाउण्डेशनले गर्न लागेको तेस्रो संस्करणको हुनेछ।

प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योग र छिमेकी मुलुक भारतलगायत अन्य देशका समेत करिब ५ हजार प्लास्टिक उद्यमीव्यवसायी र करिब १ लाख उद्योगीव्यवसायी र अन्य दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ। प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, यसका कच्चा पदार्थ र मेसिन उपकरणसमेतका विभिन्न १२६ वटा स्टल राखिएका छन्। 

प्लास्ट नेपाल नेपाली प्लास्टिक उद्यमीको छाता संगठन हो। नेपालमा प्लास्टिकको दिगो वृद्घिका लागि प्लास्ट नेपालले निरन्तर काम गरिरहेको छ। नेपाली उत्पादनलाई प्राथमिकता दिनेदेखि प्लास्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर संस्थाले सरकार र उद्योगीसँग मिलेर काम गरिरहेको छ। 

नेपालमा प्लास्टिक उद्योग व्यवसायको प्रवर्द्धन गरी उपभोक्तालाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यो प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने अपेक्षा आयोजकले राखेको छ।