काठमाण्डौ । होटेल एसोसिएसन अफ नेपालले सदस्य होटलका कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्री प्रयोग नहोस् भन्ने अभियान घोषणा गरेको छ। यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा सकेको योगदान पुग्ने गरिमा उँचो हुने विश्वास एसोसिएसनले लिएको छ। 

कोभिडपछिको पर्यटनलाई तीव्रगतिमा लयमा फर्काउने उद्देश्यले एसोसिएसनले होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न ‘क्यापेन टु इलिमिनेट सिंगल–युज प्लास्टिक फ्रम होटल रिम्ज’ सम्बन्धी औपचारिक कार्यक्रमबारे पत्रकार सम्मेलनको आयोजना गरेका हो। 

विश्वलाई नै आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले एसोसिएसनले आफ्ना सदस्य होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो।

एक पटक प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिक, तिनीहरुलाई फ्याँक्नु अघि एक पटक मात्र प्रयोग गरिन्छ । यी वस्तुहरु प्लास्टिकको झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरु र प्याकेजिङ जस्ता वस्तुहरु मूख्य रहेका छन्। आँकडा अनुसार हरेक वर्ष करिब ३ सय मिलियन टन प्लास्टिक उत्पादन हुन्छ भने यसको आधा मात्र डिस्पोजेबल हुने देखिन्छ। होटलका कोठामा प्रयोग हुने  प्लास्टिकजन्य वस्तुहरुलाई न्यूनीकरण गरी विश्वव्यापी रूपमा हरित आतिथ्यता उद्योगको परिकल्पना गरिएको छ। यसलाई निरन्तरता दिँदै एसोसिएसनले वातावरणीय दिगोपनाका लागि होटेलका कोठाहरुमा एकल प्रयोग हुने प्लास्टिक वस्तुहरुको विकल्प खोजेको छ।

एसोसिएसनले आफ्ना क्षेत्रीय संघका अध्यक्षहरु र कार्यकारी समितिका सदस्यहरुसँग एक कार्यशाला आयोजना गरेर वैकल्पिक उत्पादनहरु प्रदर्शन गरी सचेतना फैलाउने प्रतिबद्धता गरेको छ । सोही अभियानलाई केन्द्रित गरी कम भन्दा कम लागतमा पाहुनाहरुलाई सत्कार गरी वातावरणीय अनुकुलतालाई प्राथमिकतामा राखी पर्यापर्यटनमैत्री उत्पादनहरुको प्रयोगलाई अगाडि बढाइएको छ। 

अहिले विभिन्न बुकिङ माध्यम जस्तै बुकिङ डट कमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाहरु पर्यावरणमैत्री होटलहरु पर्यटकले रुचाउने गरेको देखिन्छ भने जन्डै विश्वव्यापी रुपमा ८७ प्रतिशत पर्यटकहरु दिगो यात्राका लागि तयार रहेको देखिन्छ ।