काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले भोलि असार १ गतेबाट विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीलाई समेटेर नेपालमै पहिलोपटक ‘प्रभु क्यापिटल इन्भेस्टमेन्ट गेम–२०२२’ सञ्चालन गर्ने भएको छ। 

विद्यार्थीमा नेपालको पुँजीबजार, लगानी व्यवस्थापन एवं सेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालमै पहिलोपटक यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको हो। यो कार्यक्रममा प्रत्येक महिना १ गतेबाट महिनाको अन्तिम कारोबार दिनसम्म सञ्चालन हुनेछ। 

असारबाट सुरु हुने पहिलो ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२’ मा ५ वटा कलेजका ३६ जना विद्यार्थीलाई सहभागी हुनेछन्। असार महिनाको पहिलो ‘प्रभु क्यापिटल इन्भेस्टमेन्ट गेम–२०२२’ भोलि असार १ गतेबाट सुरु भई असार ३१ गतेसम्म सञ्चालन हुनेछ। 

यस कार्यक्रममा विद्यार्थीले सेयर कारोबार हुने प्रत्येक दिन आफ्ना तर्फबाट खेलमा सहभागिता जनाउनुपर्नेछ। असार महिनाको अन्तिम कारोबार दिनसम्म खेल्दै आउँदा जसले धेरै अंक हासिल गर्छन् उनीहरु विजयी हुनेछन्। यो खेलमा प्रथम हुनेलाई कार्यक्रमको अन्त्यमा रु. १० हजारबराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिनेछ।

साउन महिनाको खेलमा सहभागी हुन चाहने कलेज तथा विद्यार्थीले कलेजको सिफारिससहित प्रभु क्यापिटलको कार्यालयमा असार १५ गतेभित्र सम्पर्क गरिसक्नुपर्नेछ।