काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सीएफओ एचके पार्कले बुधबार नेपालको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीको पनि सहभागिता थियो।

भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराए। उनले यस प्रकारको पहलहरुले भविष्यमा समुदाय र विशेषगरी नेपाली युवाको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको दोहोर्याए। 

सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स(गोल्छा समूह)सँग मिलेर नवलपरासीमा एलईडी टीभी उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने घोषणा गरिसकेको छ । नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरु गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त छ। यसका साथै स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरु सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्न जानेछ।

सामसङले नेपालमा दुई दशकदेखि नेपालमा आफ्नो व्यापार गरिरहेको छ। आज देशमा यो ब्रान्ड घरेलु नाम बनिसकेको छ। यसले हाल नेपाली बजारमा आफ्ना साझेदारहरुमार्फत स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरु जस्तै– टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन र माइक्रोवेभहरु बिक्री गर्दै आएको छ। कम्पनीसँग २ हजारभन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रको बलियो नेटवर्क विस्तार छ।