काठमाण्डौ । ठाउँ ठाउँमा बर्षाले प्रभाव पारे पनि दोश्रो चरणको स्थानीय निकायको निर्वाचनमा मतदाताहरुमा अभूतपूर्व उत्साह देखिएको छ । 

हिजो साँझदेखि नै कतिपय ठाउँमा भएको भारी वर्षाका कारण खोलाहरुमा आएको बाढीलाई समेत जोखिमपूर्ण ढंगले छिचोलेर मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न आतुर देखिएका छन्। 

यो समाचार तयार पार्दा समेत दोश्रो चरणको निर्वाचन हुने सबै क्षेत्रमा शान्तिपूर्ण ढंगले उत्साहजनक मतदान भइरहेको छ । बुढापाकादेखि युवाहरुसम्म समेत वर्षाको प्रवाह नगरी छाता तथा बर्षादी ओढेरै मतदान केन्द्रको लाइनमा देखिएका छन् । 

सर्वसाधारणसँगै बिहान ७ बजेदेखि सुरु भएको मतदानमा विभिन्न क्षेत्रबाट दलका ठूला नेता(हेभिवेट)हरुले समेत मतदान गरिरहेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गरेका छन् । उनले ८ बजेको आसपास मतदान गरेका हुन् । 

सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका वडा नम्बर ७ को बालउद्यान मावि जंगकोटबाट मतदान गरेकी छिन् । मतदान गरेपछि उनले संचारकर्मीहरुसँग भनेकी छिन्–‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशलाई विकासको मार्गमा डोहोर्याउन मैले मतदान गरेको हुँ । गणतन्त्रको संस्थागत विकासका लागि सबैलाई आफ्नो ठाउँबाट भूमिका खेल्न म आह्वान गर्छु ।

यस्तै, उपप्रधान तथा पररास्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिका वडा नम्बर १ माबि बामरुकमा रहेको मतदान केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गरेका छन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले रोल्पा नगरपालिका ७ को बालउदय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

एमालेका हेविवेटहरुले समेत विभिन्न क्षेत्रबाट मतदान गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमले बिहान ७ बजे बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ को त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । एमालेका अर्का उपाध्यक्ष भीम रावलले अछाम जिल्लाको साँफेबगर नगरपालिका वार्ड नं ६ स्थित चन्द्रोदय आधारभूत प्राबि मतदान केन्द्रमा मतदान गरेका छन् । एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुुख सुवास नेम्वाङले इलामको बालमन्दिर केन्द्रमा मतदान गरेका छन् । एमालेका सचिव प्रदीप ज्ञवालीले गुल्मीको रूरू गाउँपालिका ४ बम्घा निमावि मतदान केन्द्र ’क’ , चौताराबाट पहिलो मतदाताको रुपमा मतदान गरेका छन् । 

राप्रपा नेता दीपक बोहोराले रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को खजाना निमावी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले विराटनगर उपमहानगरपालिकाबाट मतदान गरेका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री केवी गुरुङ्गले इलामको बाल्मन्दिर केन्द्रबाट मतदान गरेका छन् ।