काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज (पुस १ गते) सम्पन्न भएको छ।

सभा काठमाण्डौको बालुवाटरस्थित बालुवाटार प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको आतिथ्यमा सम्पन्न भएको छ। सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०७८–७९को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आव २०७९–८० का लागि लेखापरीक्षकको नियुक्ति, स्वतन्त्र सञ्चालक नियुक्ति तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनहरु पारित भएका छन्।

सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सेयरधनीहरुप्रति कम्पनीका अध्यक्ष तथा सभाका सभापति न्यौपानले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवालगायतका सेवा प्रवाह गर्दै आएको र कम्पनीले आगामी वर्षमा निष्काशन तथा बिक्री प्रबन्धक, म्युचुअल फन्ड, विशिष्टकृत लगानी कोष लगायतका थप सेवा सहित बजारमा आउने योजना रहेको बताए। कम्पनीले आगामी दिनमा पुँजीबजारको विकासमा अझ बढी टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता उनले व्यक्त गरे। 

यसका साथै कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले मार्गदर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे बैंक, नियमक निकाय, लेखापरीक्षक, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मी, विभिन्न सम्बद्ध संस्था, सेयरधनी तथा कम्पनीका कर्मचारीहरु सबैलाई न्यौपानले धन्यवाद व्यक्त गरे।