काठमाण्डौ। वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासका लागि विद्युतीय गाडीहरुको उपयोगमा प्रोत्साहन एवं प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ प्रदर्शनात्मक कार्यक्रम काठमाण्डौमा सफलतापूर्वक सम्पन्न गरिएको छ। 

नेक्सन इभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवं उत्साहजनक सहभागिता रहेको थियो।

नेक्सन ईभीको काठमाण्डौ सडकमै ३४७ किमी सम्मको रेन्ज निकाल्न सफल काठमाण्डौनिवासी सलिम श्रेष्ठ प्रथम भए भने ३३२ किमी रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोस्रो हुन सफल भए। त्यसैगरी ३२१ किमि रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदीप न्यौपाने तेस्रो स्थानमा रहे। 

कार्यक्रममा सहभागीमध्ये १४ जनाले ३०० किमी रेन्जभन्दा बढी निकाल्न सकेका थिए। 

यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले ईभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवं प्रशंसापत्र प्रदान गरिएको थियो। प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाणपत्रका साथ ४३ इन्चको सामसङ स्मार्ट एलईडी टीभी जितेका छन्। 

त्यसैगरी दोस्रो स्थानमा रहेका भरत पुडासैनि र अनिश कावराले २८ लिटरको सामसुंग ओभेन जितेका छन्। 

तेस्रो स्थानमा रहने तृप्ति सिंह तथा उदीप न्यौपानेले सामसङ भ्याकुम क्लिनर जितेका छन्। 

विद्युतीय गाडीहरुको उपयोगिता, प्रभावकारिता एवं आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरुप्रति ग्राहकको द्विविधालाई हटाई यसबाट मिल्ने सुविधाका बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी गराए। 

हिजो शनिबार सिप्रदी ट्रेडिङ नैकापबाट उद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो। कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेको थियो। 

ईभीको उपयोग गर्ने ग्राहकबाट मिलेको बहुपक्षीय अप्रत्यक्ष योगदानको कदरस्वरुप कार्यक्रममार्फत उनीहरुलाई  सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्सका ग्राहक सेवा तर्फबाट रन्धिर कुमार चौधरी तथा सिप्रदीका ग्राहक सेवा प्रमुख कुमार भण्डारीले जानकारी गराए। ईभी र ईभी चलाउँदा जान्नुपर्ने विभिन्न कुराहरु छलफलसँगै दक्षिण एसियाकै पहिलो नैकापस्थित ईभी लर्निङ सेन्टरको पनि भ्रमण गराएका थिए। 

हाल नेपालमा पनि विद्युतीय गाडीहरुको माग र खपत दिनानुदिन बढ्दै गएको छ। नेपाली बजारमा टाटा नेक्सन ईभी ग्राहकले सबैभन्दा धेरै रुचाएको गाडी हो। नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकको सुविधाका लागि अरु मोडलका एसयूभी तथा सेडान गाडीहरुलाई समेत ईभीमा ल्याउने तयारी भइरहेको जानकारी गराइएको थियो।