काठमाण्डौ । कर्पोरेटपे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु. २०२ अर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोशेढुंगा पार गरेको छ।

गत आर्थिक वर्ष भने कर्पोरेटपेमार्फत कुल रु. १०९.५ अर्बबराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो। बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले सहज रुपमा कर्पोरेटपेमार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुईगुणाले वृद्धि भएको हो।   

हाल ४४ बैंक तथा वित्तीय संस्थामार्फत उक्त प्रणाालीमा बैंक तथा वित्तीय संस्थाका ६ हजार १०० भन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भई कारोबार गर्दै आएका छन्। यस प्रणालीमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ। 

यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजतपत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन्। यसका साथै यस प्रणालीको एउटै प्लेटफर्ममा एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्थासमेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ।   

प्रणालीमा रियल टाइममा प्रतिकारोबार रु. २० लाखसम्म र नन–रियल टाइम कारोबारको हकमा रु. २० करोडसम्म गर्न सकिन्छ। उक्त प्रणाालीमा व्यावसायिक ग्राहकलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नका लागि आवश्यक मल्टी–फ्याक्टर अथेन्टिकेसन तथा अथोराइजेसनको समेत उपयुक्त व्यवस्था रहेको छ। 

यसका साथै व्यावसायिक ग्राहकले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरु सेट गरी उच्चस्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन्।  

अनलाइन रजिस्ट्रेसनका लागि बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकले corporatepay.connectips.com मा गई मागिएका कम्पनीसम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यकताअनुरुप सेटअप, युजरको विवरण र बैंक खातासम्बन्धी विवरण दाखिला गरी एकपटक अनलाइन रजिस्ट्रेसन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ र सो अनलाइन रिक्वेस्टका आधारमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्छन्।